Logo

अभियानकर्मी पौडेलको ‘चेतनामृत’ उपन्यास सार्वजनिक



काठमाडौँ, ९ कात्तिक : ज्येष्ठ सफाइ अभियानकर्मी तोयनाथ पौडेलले लेखेका ‘चेतनामृत’ उपन्यास सार्वजनिक भएको छ । शिक्षण सेवाबाट अवकाशप्राप्त पौडेल दुई वर्षअघि चक्रपथको उत्तरी भाग सफाइ अभियान शुरु भएसँगै निरन्तर सहभागी हुुँदै आएको छ । ७६ वर्षीय पौडेल जाडो, वर्षा, चाडपर्व जुनसुकै दिन भएपनि प्रत्येक हप्ताको शनिबार चक्रपथ सफाइ अभियानमा उपस्थित भएर फोहर टिप्नुहुन्छ ।

लेखकको यो चौथो कृति हो । यसअघि उनको ‘जीवन र सङ्घर्ष’ (आख्यानात्मक कृति) २०६८, ‘सम्झौता’ उपन्यास (२०७१) र नियात्रा ‘कालीगण्डकीदेखि क्यानडासम्म’ (२०७४) प्रकाशित भइसकेका छन् । सामाजिक विषयवस्तुमा आधारित ‘चेतनामृत’ उपन्यास विमोचन गर्नुहुँदै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली समाजको अग्रगामी रुपान्तरणमा साहित्यले योगदान गर्ने विश्वास व्यक्त गरे ।

“लेखक पौडेलले आफूलाई लागेका कुरा स्पष्ट रुपमा पुस्तकमा अभिव्यक्त गरे , यो साहस सबैले राख्दैनन्, उनको यो साहस कृतिमा पनि प्रतिविम्वत छ, यस्तो साहित्यले मानव जातिलाई सेवा पुर्याइरहेको हुन्छ”, उनले भने । समाजमा चेतनाको सन्देश दिन पौडेलको ‘चेतनामृत’ उपन्यास सफल हुने मन्त्री विश्वकर्माको आशा थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हेमनाथ पौडेलले धेरै कृतिको रचनामा भन्दा राम्रो सन्देश दिने कृति रचना हुनुपर्ने बताए । कृतिका कतिपय पात्रको विकास राम्रोसँग हुन नसकेको उनको भनाइ थियो ।

उपन्यासमाथि समीक्षा गर्नुहुँदै प्राज्ञ रामबाबु सुवेदीले ‘चेतनामृत’ समाजपरक कृतिका रुपमा आएको बताए । लेखक पौडेलले अवकाशप्राप्त जीवनलाई लेखनका माध्यमबाट सदुपयोग गरेको जानकारी दिए । चक्रपथ सफाइ संयोजक लोकबहादुर टण्डन, क्यापिटल एफएमका अध्यक्ष प्रकाशबाबु पौडेल लगायतले वृद्ध भएर पनि पौडेल नियमित सफाइ र बिहीबार हुने सफाइसम्बन्धी बैठकमा पनि सहभागी हुने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्