Logo

जनताले चाहेजस्तै विकास हुन्छ : मुख्यमन्त्री राई



भोजपुर, ९ कात्तिक : मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा जनताले चाहेजस्तै विकास गरेर छाड्ने बताए । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यहाँका स्रोत र साधनलाई अधिकतम प्रयोगमा ल्याएर विकासको चरणमा अगाडि बढाउने धारणा राखे ।

मुख्यमन्त्री राईले भने , “यो प्रदेशलाई समृद्ध बनाउने गरी मैले काम अगाडि बढाएको छु, प्रदेशसँगै भोजपुर पनि समृद्धिको बाटोमा अगाडि बढ्छ ।” विकासका लागि सबैले प्रत्येक सेकेन्डको महत्वलाई बुझेर काम गर्नुपर्ने राईको भनाइ थियो । मुख्यमन्त्री राईले भने , “तपाईँ हामी यो देशका सचेत नागरिक हौ , हामीले प्रत्येक सेकेन्ड समयको महत्वलाई बुझेर जिम्मेवारी वहन गर्न आवश्यक छ ।”

प्रदेश सरकारले विकासका लागि प्राथमिकताका आधारमा प्रशस्त बजेट विनियोजन गरेको भए पनि काममा सोचेअनुरुप खर्च नभएकामा भने उनले चिन्ता व्यक्त गरे । उनले आफ्नो क्षेत्रमा भइरहेका कामको जनता आफैँले पनि अग्रसर भएर निगरानी गर्नुपर्ने बताए । मुख्यमन्त्री राईले भने , “विकास गर्नका लागि हामीले करोडौँ बजेट छुट्याएका छौँ र काम पनि भइरहेको छ तर जनताको तर्फबाट पनि भइरहेको काममा निगरानी र खबरदारी हुनुपर्यो ।”

प्रदेशबाट सञ्चालन हुने कामलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी तवरले सम्पन्न गराउन अनुगमन समिति गठन गर्ने तयारी भइरहेको उनको भनाइ छ । आफूले भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरेको बताउनुहुँदै उनले प्रमाणसहित आफूलाई जानकारी दिए एक घण्टाभित्र कारवाही गर्नेसमेत बताए ।

मुख्यमन्त्री राईले भोजपुरको मुन्दुम ट्रेलको विकासका लागि रु दुई करोड विनियोजन गरेको जानकारी दिए । उनले जिल्लाका ठूला सडक र पक्की पुलको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताए । आगामी आर्थिक वर्षभित्र भोजपुरका सबै जनता विद्युत्को पहुँचमा पुग्नेसमेत जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्