Logo

रौतहट बमकाण्डका घाइतेको सनसनीपूर्ण खुलासाः बम लागेर पेटबाट बगेको रगत थुन्दै भागेर ज्यान जोगाएँ (भिडियोसहित)



काठमाडौं, ९ कात्तिक । २७ चैत २०६४ मा भएको रौतहट बमकाण्डका घाइते पत्ता लागेका छन् । सांसद मोहमद अफताब आलम र उनका भाई महताब आलमले घटना नघटेको दाबी गरिरहँदा घाइते सफी अहमदले घटनामा आफूले ज्यान जोगाएर भागेको सनसनीपूर्ण खुलासा गरेका छन् ।

रिपोर्टर्स नेपालसँग सफी अहमदले घटनाबारे खुलासा गरेको भिडियो रेकर्ड समेत छ । भोजपुरी भाषामा बोलेको भिडियोमा उनले आफू बमकाण्डमा कसरी घाइते भएँ भनेर खुलाएका छन् । घटनाको बखत बम तयार भइरहेको टहराको ढोकामा उभिएको बताए ।

बम बनाउनेलाई नास्ता ल्याउन भनिएपछि आफू सोध्न गएको बताए । उनले भने,‘नास्ता ल्याउने हो भनी सोध्न जाँदा काम सक्किएपछि खाउँला एकछिन पख भने ।’ यत्तिकैमा आफू एकछिन ढोकामा उभिएको सुनाउँदै एक्कासी बम पड्किएको बताए । उनले भने,‘एक्कासी बम पड्किएर भागदौड मच्चियो, म छक्क परें ।’ बम कसरी एक्कासी पड्कियो भन्नेबारे समेत जान्ने कुनै समय नै नपाएको बताए ।

पेटबाट रगत बग्न थालेपछि पटुकाले बेरेर भागेको उनको भनाई छ । उनले भने,‘म पटुकाले पेट बाँधेर भागेपछि मेरो मालिकले भारतको मोतिहारीमा उपचार गराए ।’ मोतिहारीमा डा. तवरेज आलमको क्लिनिकमा चार महिनासम्म उपचार गराएको सुनाए । उनले भने,‘बम लागेको १९ दिनपछि मात्र मेरो होस खुलेछ ।’

घटनाका प्रत्यक्षदर्शी तथा घाइते सफी अहमद चरुवाको काम गर्थे । गाइगोरु सीमापारी पुर्याउने काम गर्ने उनी अफताबका काका शेख जनरैल कहाँ पुगेका थिए । गाइगोरुको लाइन मिलाएर लाने गरेको र त्यस दिन सशस्त्र प्रहरीले रोकेपछि भारतमा रहेका आफ्ना मालिकमार्फत् लाइन खुलाउन शेख कहाँ पुगेका थिए । शेखले कुराएका थिए । यसै क्रममा उनलाई नास्ताका लागि टहरमा बसेकाहरुलाई बोलाउन पठाइएको थियो ।

दुर्भाग्य, उनी पुगेको केही समयपछि बम बिष्फोट भयो । घाइते भएपछि धन्न ज्यान जोगाउन सके । उनी भन्छन्,‘उनीहरु मतर्फ हेर्दै थिए तर भाग्न सकें ।’

हेर्नुहोस् भिडियो:



प्रतिक्रिया दिनुहोस्