Logo

प्रधानमन्त्रीसहितको टोली स्वदेश आइपुग्दै



काठमाडौं, कात्तिक १० । अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री केपी ओलीसहितको टोली आज स्वदेश आइपुग्दैछ ।
टोली कतारको राजधानी दोहाहुँदै नेपाल आउन लागेको हो । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्ववाज वाग्ले र नेपाली दूतावासका अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गरेका थिए । शुक्रवार र शनिवार भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका हुन् ।
यसअघि बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई अजरबैजानका यातायात, सञ्चार तथा उच्च प्रविधिमन्त्री रमीन गुलुजादे, उपविदेशमन्त्री रामिज हुसेनोभ र विदेश मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुले बिदाइ गरेका थिए ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समावेश छन् ।



प्रतिक्रिया दिनुहोस्