Logo

किन कम्युनिष्ट देशका नागरिक ज्यान जोखिममा राखेर गैरकम्युनिष्ट देश छिर्छन्



समाचार विश्लेषण । कार्ल माक्र्स कम्युनिष्ट सिद्धान्तका प्रतिपादक हुन् । उनैले कम्युनिष्ट घोषणापत्र लेखे । पूँजीवादको चर्को विरोध गरेर पूँजी माक्र्सले लेखे । तर, पूँजी पुस्तक उनले बेलायतमा लेखेका थिए जुन गैरकम्युनिष्ट देश रहँदै आएको छ । जसले कम्युनिष्ट सिद्धान्त बनायो उसैले गैर कम्युनिष्ट देशको स्वतन्त्रता र अवसरको अभ्यास गर्यो ।

कम्युनिष्ट शासन भएका देशबारे जति आकर्षक विषय चर्चामा ल्याइन्छ त्यो यथार्थमा छैन भन्ने तथ्य बेलायतमा कन्टेनरमा भेटिएको ३९ शवको तथ्यले पुष्टि गरेको छ । हालसम्म जानकारीमा आए अनुसार ३९ शव चिनियाँ र भियतनामी नागरिकको हो । उनीहरु लाखौं डलर खर्च गरेर बेलायत छिर्न खोज्दै थिए ।

चीन कम्युनिष्ट एकदलीय शासन भएको देश हो । भियतनाम पनि कम्युनिष्ट देश हो । चीन र भियतनाम दुवै तिव्र आर्थिक वृद्धि गरिरहेका देश हुन् । चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र हो । उसले अमेरिकालाई केही वर्षमै उछिन्ने आँकलन गरिएको छ । चीन विश्वमै बढी संख्यामा अर्बपति भएको देश बनिसकेको छ । उसले अमेरिकालाई अर्बपतिहरुको संख्यामा उछिनिसकेको छ ।

विश्वकै धनी देश बन्न गइरहेको चीनबाट किन मानिसहरु अमेरिका, क्यानडा, यूरोपलगायतका देशमा ज्यान जोखिममा पारेर गइरहेका छन् ? आखिर किन त्यस्तो भइरहेको छ । लरी कन्टेरनभित्र मारिएको आशंका गरिएकी एक भियतनामी युवतीले ३८ हजार अमेरिकी डलर मानव तस्करलाई बुझाएको तथ्य बाहिर आइसकेको छ । आखिर किन यति ठूलो धनराशी खर्च गरी कम्युनिष्ट देशका युवायुवती यूरोप अमेरिकामा पस्न खोजिरहेका छन् ?

चीनमा धनीहरु बढ्दैछन् । भौतिक विकासले उचाई हासिल गरिरहेको छ । भौतिक विकास र आर्थिक वृद्धिका बाबजुद किन चिनियाँहरु ज्यान जोखिममा पारेर यूरोप, अमेरिका र क्यानडा जस्ता देशहरु पुगिरहेका छन् ? यो गम्भीर प्रश्न बनेको छ ।

२३ अक्टोबरमा बेलायतमा लरी कन्टेनरमा भेटिएको ३९ शव चिनियाँ नागरिकको भएको खुलेसँगै संसारभरका धेरै मानिसहरु आश्चर्यमा परेका छन् । चीनको विकास र प्रगतिको गाथा सुन्नेहरुले चिनियाँहरु ज्यान जोखिममा पारेर बेलायत पुगेको घटनापछि घोत्लिएर सोच्न वाध्य भएका छन् ।

अफ्रिका, ल्याटिन अमेरिका र एशियाका कतिपय गरिब देशका जनताले ज्यान जोखिममा पारेर विकसित देश पस्न खोजेको खबर सामान्य हुन्थ्यो । तर, चीनजस्तो विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देशका नागरिक बेलायत पस्न मानव तस्करको हातमा पुगेको खुल्यो ।

माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार संसारमा धेरै आप्रवासी बन्ने चौंथो देशमा चीन पर्दछ । झण्डै एक करोड चिनियाँहरु आप्रवासी बनेका छन् । उनीहरुमध्ये सबैभन्दा बढी अमेरिकामा पुगेका छन् । त्यसपछि क्यानडा र अष्ट्रेलियमा आप्रवासी बनेका छन् । चिनियाँहरु आफ्नो देश छाडेर अन्यत्रको अवसर लिन सक्रिय भएका छन् ।

बेलायतमा मात्र कुल भीसा दिइएकामध्ये सन् २०१८ मा २५ प्रतिशत चिनियाँहरु छन् । यो संख्या अघिल्लो वर्षका तुलनामा बढेको छ । रोचक पक्ष यो छ कि चीनबाट यूरोप र अमेरिका प्रवेश गरेकाहरुमा सम्पत्ति भएका र पढेलेखेकाहरु नै छन् । कामको कौशल भएकाहरु नै बढी चीन छाडिरहेको तथ्यांक छ । उनीहरु निकै जटिल र जोखिमयुक्त काम गर्न वाध्य छन् ।

चिनियाँहरु बढी बसाईंसराई गरी यूरोप र अमेरिका जान चाहनुमा असमानता नै मुख्य कारण हो । चीनमा धनी र गरिबबीचको खाडल बढ्दो छ । माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार राजनीतिक, एक सन्तान नीति र विदेशमा पढ्न जाने चाहनाका कारण चीन छाड्नेहरु बढी देखिएका छन् । यसको चाहना लागि उनीहरु मानव तस्कर समूहको हातमा समेत पर्न सक्छन् ।

कम्युनिष्ट देश उत्तर कोरियाबाट लुकेर दक्षिण कोरिया पस्नेहरुको संख्या उत्तिकै छ । विश्वकै सर्वाधिक निगरानीमा रहेको दुई कोरियाको सीमाबाट समेत ज्यान जोखिममा पारेर मानिसहरु दक्षिण कोरियातर्फ पस्ने गरेका छन् । उत्तर कोरियाका कतिपय जिम्मेवार अधिकारीहरु समेत देशबाहिर पुगेर नफर्किई शरणार्थी बनेको घटना उत्तिकै छ । क्युबाबाट भागेर अमेरिका जानेहरुको संख्या उत्तिकै छ । यसरी लुकिछिपी देश छाड्ने कम्युनिष्ट देशका नागरिकहरुमध्ये कतिपयको बाटोमै ज्यान जानेगर्छ ।

कम्युनिष्ट शासनमा स्वतन्त्रता कुण्ठित हुनु, असमानताको खाडल गहिरिनु र सिमित व्यक्तिको मात्र शासनसत्ता र शक्ति हुनुले मानिसहरु विचलित हुनेगरेकाले ज्यान जोखिममा पारेर देश छाड्ने गरेको अध्ययनहरुले देखाएको छ ।

Photo: Agencies



प्रतिक्रिया दिनुहोस्