Logo

महाकवि देवकोटाको सम्झना



नुवाकोट, १० कात्तिक  : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीको अवसर पारेर उनले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानमाथि यहाँको बलकोटगढी नगरपालिका–५ दुईपिपल डबलीमा चर्चा गरिएको छ । महाकवि देवकोटाले कुञ्जनी खण्डकाव्य र पहाडी जीवन निबन्ध यही क्षेत्रमा लेखेकाले त्यसैको सम्झनामा यहाँ एक दशकदेखि देवकोटा जयन्ती मनाइँदै आएको छ ।

देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठान र महाकवि देवकोटा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार आयोजना गरेको ‘देवकोटाको वैचारिक दृष्टिकोण’ विषयक विचार गोष्ठीमा सहभागीहरुले देवकोटाले लेखेको-सोचेको नेपाल अझै निर्माण हुन नसकेको बताए । प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष निनु चापागाईंले देवकोटाको सिर्जनामा देखिएको वैचारिक विकासको बारेमा जानकारी दिए । उनले देवकोटालाई कुनै एक रचनाको आधारमा मात्र चिन्न नहुने बताए ।

कार्यक्रममा प्रा रमेश भट्टराईले देवकोटाको राजनीतिक यात्राको बारेमा चर्चा गर्नुभएको थियो । उनले देवकोटाको साहित्य र राजनीतिक यात्राले चाहेको परिवर्तन अहिले देखिए पनि उनको दृष्टिकोणले अझै सार्थकता पाउन नसकेको बताए ।

नुवाकोटको झिल्टुङलाई चिनाउन कुञ्जीनी र पहाडी जीवनले विशेष योगदान पु¥याएको भन्दै देवकोटाले ती कृति लेख्न बसेको घरलाई भूकम्पले क्षति गरेकाले त्यस घरको निर्माणमा नगरपालिकाको ध्यानाकर्षण भएको बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानाले बताए ।

प्रमुख ढुङ्गानाले देवकोटालाई अमर राख्न कोल्पुटारदेखि उहाँ बस्नुभएको घरसम्म देवकोटा मार्ग भनेर नामाकरण गरिएको जानकारी दिए । कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष मातृका पोखेरल, साहित्यकार अभय श्रेष्ठलगायतको आ–आफ्ना धारणा राखे ।

यस्तै कार्यक्रममा बाबा बस्नेत, राजकुमार पुत्ला, प्रमिला परी, गायत्री भट्टराई, भगवती लामा, अग्निराज पौडेल लगायतले सिर्जना वाचन गरेका थिए । कार्यक्रममा बेलकोटगढी नगरपालिका–६ देउरालीका नारायण नेपालले लेख्नुभएको ‘कञ्चना’ नामक कृति विमोचन गरिएको छ । कार्यक्रममा निभा शाह, अभय श्रेष्ठ र लव प्याकुरेललाई सम्मानसमेत गरिएको थियो ।

देवकोटाले विसं १९९७ तिर नुवाकोटको झिल्टुङमा मामा ससुराली आएको बेला कुञ्जिनी खण्डकाव्य र पहाडी जीवन निबन्ध लेखी यहाँको परिवेशलाई समेटेकोले हरेक वर्ष देवकोटाको जन्मजयन्तीको अवसर पारेर झिल्टुङमा कार्यक्रम गर्ने गरिएको महाकवि देवकोटा प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालले बताए ।



प्रतिक्रिया दिनुहोस्