Logo

सिद्धभूमे सामुदायिक वनमा चियाखेती



गलेश्वर, १० कात्तिक : म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक (उद्यान) वनमा गरिएको चियाखेती सफल भएपछि यस वर्षदेखि समुदायले उत्पादन लिने तयारी गरेका छन् । सामुदायिक वनको १० रोपनी क्षेत्रफल जमीनमध्ये चार रोपनी क्षेत्रफलमा परीक्षणको रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य रामबहादुर गुरुङले जानकारी दिए ।

समुद्री सतहदेखि करीब दुई हजार २०० मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ ।

“हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिन सफल भएका छन्”, गुरुङले भने , “चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा चियाका बिरुवाहरु थप्ने योजनामा छौँ ।” गौश्वारा गाउँ शितोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो ।

गौश्वाराको वन क्षेत्रमा साल, सिर्मु, सल्लोलगायतका काठ तथा विभिन्न किसिमका जडिबुटीहरु, एवं जङ्गली जनावर र पक्षी देख्न सकिने स्थानीय परमेश्वर मल्लले बताए । उनले भने , “चिया खेतीलाई प्रवद्र्धन गरी व्यावसायिक खेती शुरु गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ ।’’



प्रतिक्रिया दिनुहोस्