Logo

लिटिल फ्लावर क्रिकेट लिग च्याम्पियन



धनगढी, १० कात्तिक  : कैलालीको बर्दगोरियामा आयोजित ‘बालबाटिका क्रिकेट लिग २०७६’ को च्याम्पियन लिटिल फ्लावर स्कुल धनगढी बनेको छ ।

आयोजक नव बालबाटिका स्कुलमाथि ४२ रनको फराकिलो जित दर्ता गर्दै लिटिल फ्लावर पहिलो संस्करणको च्याम्पियन बनेको हो । विद्यालय तहको सुदूरपश्चिम प्रदेशस्तरीय उक्त क्रिकेट प्रतियोगिताको उपाधिसँगै लिटिल फ्लावरले रु एक लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

उपविजेता बनेको आयोजक नवबालबाटिकाले रु ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । बालबाटिका क्रिकेट लिगको आज भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको लिटिल फ्लावरले २० ओभरमा सबै विकेट बनाउँदै ११० रन बनायो ।

लिटिल फ्लावरका लागि नरेन भट्टले २० रन र अनुराग सिंहले १५ रन बनाए । बालबाटिकाका लागि वसन्त ठाकुरले चार र पारस भुलले तीन विकेट लिए । १११ रनको विजयी लक्ष्य पछ्याएको बालबाटिका १७ दशमलव तीन ओभरमा ६८ सनमा समेटियो ।

बालबाटिकाका लागि नरेन्द्र साउदबाहेक अरु खेलाडीले दोहोरो रन अङ्क छुन सकेनन् । आयोजकको टिमलाई सस्तैमा समेट्ने क्रममा लिटिल फ्लावरका लागि दीपक रोकायाले पाँच विकेट लिए । प्रकाश बडूले तीन विकेट लिए । आफ्नो टिमलाई उपाधि जिताउन भूमिका खेलेका लिटिल फ्लावरका दीपक रोकाय ‘म्यान अफ द म्याच‘ घोष्ति भई पुरस्कृत भए ।

यस्तै प्रतियोगितामा आर एम ई स्कुल टीकापुरका अभिषेक खत्री उत्कृष्ट खेलाडी, लिटिल फ्लावरका नरेन भट्ट उत्कृष्ट ब्याट्सम्यान र प्रकाश बुढा, उत्कृष्ट बलरमा आयोजक नव बालबालिका स्कुलका लालबहादुर विके घोषित भई पुरस्कृत भए ।

प्रतियोगिताका विजयी खेलाडीलाई बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलीराम थारु, नवबालबाटिका स्कुलका संस्थापक देवबहादुर मल्ल, प्रतियोगिताका संयोजक प्रमोद मल्लले संयुक्तरुपमा पुरस्कार वितरण गरे । असोज २६ देखि शुरु भएको प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ वटा विद्यालयका क्रिकेट टिमको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्