Logo

‘जुँगाको लडाईं नलड्नुस्, आज म्हपूजा भोलि भाइटीका’



काठमाडौं, ११ कात्तिक । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले आज म्हपूजा भएको बताएका छन् । कतिपयले भोलि म्ह पूजा भनिरहँदा उनले आज नै म्ह पूजा गर्नुपर्ने बताए । आज र भोलि महपूजा भनेर जुंगाको लडाईं नलड्न समेत आग्रह गरे ।

‘पूजा आज बेलुका ११ बजेभित्रै हुन्छ । प्रतिपदा तिथिमा जतिबेला सूर्योदय हुन्छ त्यहीबाट नेपाल सम्वत सुरु हुन्छ भन्ने शास्त्रीय निर्णय हो,’ गौतमले भने, ‘त्यसलाई नेवारमित्रले जुँगाको लडाईं गरिरहनुभएको छ । नेवारमित्रमा एकथरी ठिक छ, पञ्चाङ्ग निर्णयकले गरेको निर्णय सही हो भन्ने हुनुहुन्छ, अर्को थरी होइन भन्नुभएको छ । एकथरी नेवारमित्रहरु चाहिं १३ गते गर्ने हाम्रो परम्परा मिलेन भनेर लाग्नुभएको छ ।’

परम्परा भनेको शास्त्रसम्वत हुनुपर्ने भन्दै शास्त्रले मान्यो भने त्यो परम्परा मान्य हुने, मानेन भने त्यो मान्य नहुने बताए । १३ गते भाइपूजा गर्ने भन्ने सरासर शास्त्रविद्धको कुरा भएको बताए ।

उनले भने, ‘बिहान गोबर्धन पूजा गरेर बेलुका म्हपूजा शास्त्रीय व्यवस्था छ ।’ सन्ध्याकालमा जुन दिन प्रतिपदा तिथि हुन्छ त्यही दिन म्हपूजा गर्नुपर्ने उनको भनाई छ ।
गौतमले भने, ‘आज औसी थोरै छ, त्यसपछि परेवा लाग्छ । त्यहाँबाट गोरुपूजा सुरु हुन्छ ।’

मंगलबार भाइटीका भएको गौतमले बताए । उनले भने, ‘जुन दिन द्वितीया तिथि छ, त्यही दिन भाइपूजा गर्नु भनेर शास्त्रमा उल्लेख छ । त्यसकारण मंगलबार मध्यान्नकालमा भाइपूजा गर्नुपर्छ ।’ भाइपूजा गर्न खास साइत ११ः५५ मिलेन भने पनि मध्यान्नकाल भएकै हुनुपर्ने जानकारी दिए ।

गौतमले भने, ‘अस्ति शुक्रवारदेखि यमपञ्चक सुरु भएर पाँचदिनसम्म चल्छ । शुक्रबारदेखि गन्दा मंगलवार पाँच दिन हुन्छ, त्यही दिन भाइपूजा गरेर यमपञ्चक समाप्त हुन्छ ।’
केहीले १३ गते बुधबार भाइटीका भनेकोमा आलोचना गरे । सरकारले भाइटीका भन्दै १३ गते बिदा दिएकोमा भने, ‘सरकारले के गर्दा त्यो उसैले जान्ने कुरा हो । तर, शास्त्रले के भन्छ भन्ने प्रमुख हो ।’

गौतमले भने, ‘१३ गतेलाई ११ पला मात्रै द्वितीया तिथि छ, त्यसपछि तृतीया शुरु हुन्छ । मध्यान्नकालमा भाइपूजा गर्नु भनेको छ, त्यो अनुसार हामीले पञ्चाङगमा १२ गते नै भाइपूजा भनेर लेखेका छौं ।’ यमपञ्चक सकिएपछि टीका नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्