Logo

बगदादी लुकेको घर ध्वस्त, सुरुंगभित्र कुकुरले लखेटेपछि आत्मघाती ज्याकेट बिष्फोट गराए



अमेरिकी सैनिकको विशेष कारबाहीमा मारिएका आइएसका नेता अबु बकर अल बगदादी लुकेर बसेको घर ध्वस्त भएको । अन्तर्राष्ट्रिय समाचार संस्थाले सिरियाको बरिसास्थित उनी बसेको घर ध्वस्त भएको फुटेज सार्वजनिक गरेका छन् ।

घरको भग्नावशेश हेर्दा खतरनाक हमला भएको देखिन्छ । तलदेखि माथिसम्म घर ध्वस्त पारिएको छ । भग्नावशेश हेर्दा घरमा बसेका कोही पनि नबाँचेको हुनसक्ने देखिन्छ ।
बगदादी अमेरिकी हमलापछि भागेर टनलभित्र छिरी आत्मघाती ज्याकेट पड्काएर ज्यान लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले घटनालाई प्रत्यक्ष हेरेका थिए । प्रत्यक्ष हेरेको तस्बिर उनका सामाजिक सञ्जाल हेर्ने एकजना सल्लाहकारले सार्वजनिक गरिसकेका छन् । बगदादी घरभित्र बनाइएको सुरुङबाट तीन बच्चासहित भाग्दै गर्दा मारिएका थिए । घटनामा उनको तीन बच्चा समेत मारिएको बताइएको छ ।

बगदादीको शव क्षतविक्षत भएपछि शरीरको केही भाग अमेरिकी सैनिकले लिएर गएको बताइएको छ । कारबाहीमा आठवटा विशेष हेलिकोप्टरको प्रयोग गरिएको थियो । अमेरिकी सेनाको कमाण्डो देखि कुकुर समेतको प्रयोग भएको थियो । घटनामा दोहोरो गोलीहानाहान समेत भएको थियो ।

यसअघि आइतबार पत्रकार सम्मेलन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट आइएसका नेता अबु बकर अल बगदादी मारिएको घोषणा गरेका थिए । ‘आइएस नेता अबु बकर अल बगदादी मारिएका छन्,’ ट्रम्पले पत्रकार सम्मेलनमा भने । बगदादी वर्षौं देखि अमेरिकाको खोजीको सूचीमा थिए । शनिबार सिरियामा अमेरिकी सैनिकको कारबाहीमा बगदादी मारिएको जनाइएको छ । कारबाहीमा तीन बालबालिका र दुई महिलाको समेत मृत्यु भएको छ । उनीहरु को हुन् भन्ने खुलाइएको छैन ।

बगदादीमाथि कारबाही चलाउन हप्तौं देखि अमेरिकी सैनिकले निगरानी गरिरहेको थियो । कारबाहीको निर्णय निकै गोप्य राखिएको थियो । कारबाही रातको समयमा भएको ट्रम्पको भनाई थियो ।

यसअघि धेरैपटक बगदादी मारिएको दाबी गरिएको थियो । तर, पछि असत्य ठहरिएको थियो । यसपटक उनी मारिएको अमेरिकी राष्ट्रपति ट्रम्पले नै घोषणा गरेका छन् ।
ह्वाइट हाउसले अमेरिकी कारबाहीको प्रत्यक्ष घटना हेरिरहेको अवस्थाको ट्रम्पसहित वरिष्ठ अधिकारीहरुको तस्बिर सार्वजनिक गरेको छ । बगदादी रहेको भनिएको सिरियाको घर क्षेत्रमा अमेरिकी सैनिक हमलाको दृश्य ट्रम्पसहित उपराष्ट्रपति माइक पेन्स, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिन, रक्षामन्त्री मार्क इस्पर, अमेरिकी सेना प्रमुख मार्क ए मिले र ब्रिगेडियर जनरल मारकुस इभान्सले हेरेका थिए । तस्बिरमा २६ अक्टोबरमा हमला गरिएको उल्लेख छ ।
-एजेन्सीको सहयोगमा
Photo Source: AFP



प्रतिक्रिया दिनुहोस्