Logo

चिलीमा आपतकाल हटाइयो, प्रदर्शन जारी



सान्टियागो, ११ कात्तिक । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले देशव्यापी हिंसा भड्किएपछि गत सातादेखि लगाइएको आपतकाल सोमबार फिर्ता लिएको घोषणा गरेको छ । तर सरकार विरोधी विरोध प्रदर्शनहरु देशव्यापी जारी रहेका छन् ।

राजनीतिक र आर्थिक परिवर्तनको माग राखी लाखौं मानिस सडकमा उत्रिएपछि राष्ट्रपति पिनेराले सोमबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाएका छन् । हिंसा रोक्ने भन्दै शहरमा रातिको समयमा लगाइएका निषेधाज्ञा (कफ्र्यु) पनि निस्प्रभावी भएपछि गत शनिबारदेखि त्यस्ता निषेधाज्ञाहरु पनि हटाइएका थिए ।

एक दशकयताकै सर्वाधिक ठूलो नागरिक विद्रोहका कारण मुलुकमा अस्थिरता र हिंसा बढेको भन्दै गत साताभर सरकारले आपतकाल र निषेधाज्ञा जारी गरेको थियो । सार्वजनिक यातायातमा भाडा वृद्धि भएको भन्दै विद्यार्थीको विरोधबाट शुरु भएको यो आन्दोलन अहिले देशव्यापी बनेको छ । अहिले यो आन्दोलन सरकारको नियन्त्रण बाहिर पुग्नुका साथै केही व्यक्तिको मृत्यु समेत भएको छ ।

राष्ट्रपतिको ट्वीटरमा देशका विभिन्न भागमा लगाइएका आपतकाल र निषेधाज्ञा तत्काल हटाउने उल्लेख छ । निषेधाज्ञा लागू गरेसँगै देशका विभिन्न भागमा २० हजारभन्दा बढी सेना र प्रहरी परिचालन गरिएको थियो ।राष्ट्रपति पिनेराले नयाँ सरकार गठन गर्नेगरी मार्गप्रशस्त गर्न वर्तमान मन्त्रिमण्डलका सबै सदस्यलाई राजिनामा गर्न आग्रह गरेलगत्तै आपतकाल हटाउने निर्णय सार्वजनिक भएको हो । पिनेराले शनिबार आफूहरु नयाँ सोचका साथ अघि बढ्न चाहेको बताउँदै एक साताअघिको भन्दा अहिलेको चिली बिल्कुलै भिन्न भइसकेको बताए ।

तर राजधानी सान्टियागोबाट करिब १२० किलोमिटर पश्चिमको भाल्पाराइसोमा हजारौं प्रदर्शनकारी विरोध प्रदर्शन उत्रिएका छन् । भाल्पाराइसोका मेयर जोर्ज शार्पले यो आन्दोलन शान्तिपूर्ण र रचनात्मक रहेको बताए । यस प्रदर्शनमा झण्डै १ लाख मानिस सहभागी भएका थिए । प्रदर्शनका क्रममा केही ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच छिटपुट सामान्य भिडन्तका घटना भएका थिए ।

प्रदर्शनकारीले अहिले आर्थिक र राजनीतिक सुधारको कार्यसूची अघि सार्नुका साथै राष्ट्रपति पिनेराको राजिनामा मागिरहेका छन् । आगामी नोभेम्बर १६–१७ मा सान्टियागोमै एसिया प्रशान्त आर्थिक मञ्च (एपेक) को व्यापार सम्मेलन पनि हुँदैछ । प्रदर्शनका कारण यो सम्मेलनलाई असर पार्ने सम्भावना व्यक्त भइरहेका बेला सरकारले भने उक्त सम्मेलन निर्धारित मितिमै हुने स्पष्ट गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ लगायतका नेताहरु उक्त सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्