Logo

अर्जेन्टिनीमा अल्बर्टो फर्नान्डेज विजयी



ब्युनस आयर्स, ११ कात्तिक। अर्जेन्टिनामा आइतबार सम्पन्न निर्वाचनमा आफू पराजित भएको राष्ट्रपति मउरिसियो म्याक्रीले स्वीकार गर्नु भएको छ । मुलुकमा आर्थिक संकट गहिरिएको र गरिबी अझ बढेको भन्दै तिब्र आलोचना भइरहेको सन्दर्भमा मुख्य विपक्षी अल्बर्टो फर्नान्डेज विजयी भएका छन् ।

यस चुनावी नतिजाले अर्जेन्टिनाको पहिल्यैदेखि कमजोर मुद्रा अझ कमजोर हुने र वित्तीय बजारमा नकारात्मक सन्देश जाने अनुमान गरिएका छन् । अल्बर्टो फर्नान्डेजका उपराष्ट्रपतिका उम्मेदवार क्रिस्टिना फर्नान्डेजका कतिपय विवादास्पद नीति र भनाईहरुले पनि अर्थतन्त्रमा अस्थिरता निम्त्याउने आशंका गरिएको हो । क्रिस्टिना यसअघि सन् २००७ देखि २०१५ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । विपक्षीहरुको भनाईमा अनुदारवादी छवी बनाएकी पूर्व राष्ट्रपति क्रिस्टिनाले नवनिर्वाचित राष्ट्रपति अल्बर्टोमाथि प्रभाव राख्ने सम्भावना बढी छ ।

प्रारम्भिक चुनावी नतिजा सार्वजनिक भएलगत्तै दुबै फर्नान्डेजका हजारौं समर्थक अर्जेन्टिनाको झण्डा लिएर सडकमा उत्रिएका थिए । प्रदर्शनकारीले “हामी फेरि सत्तामा आएका छौं” भन्दै नारावाजी गरेका थिए ।“आज, सबै अर्जेन्टिनीको राष्ट्रपतिमा अल्बर्टो चुनिनु भएको छ,” क्रिस्टिनाले समर्थकहरुलाई सम्बोधन गर्दै भन्नुभयो । “उनिमाथि ठूलो जिम्मेवारी छ र त्यसका लागि सबै अर्जेन्टिनीले सहयोग गर्नु पर्दछ ।”

अर्जेन्टिनाको राजनीतिमा निकै प्रभावशाली मानिएकी क्रिस्टिनाका पति नेस्टर कर्चनर पनि अर्जेन्टिनाका राष्ट्रपति थिए । नवनिर्वाचित राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पनि समर्थकहरुलाई धन्यवाद दिँदै पूर्व राष्ट्रपति कर्चनरको योगदानलाई स्मरण गरे । उनले अर्जेन्टिनाले सामना गरिरहेका समस्यासँग जुध्न वर्तमान राष्ट्रपति म्याक्री प्रशासनको सहयोग पनि आवश्यक छ भने ।

राष्ट्रपति म्याक्रीले आफ्नो पार्टीको मुख्यालयमा निराश समर्थकहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित राष्ट्रपति अल्बर्टोलाई बधाई दिएको र सोमबार राष्ट्रपति निवासमा आमन्त्रण गरेको जानकारी दिए । उनले भने , “हामी चाहन्छौं, शान्तिपूर्ण सत्ता हस्तान्तरण होस् र यसबाट सबै अर्जेन्टिनीमा खुशीको वातावरण निर्माण होस् किनभने हामी सबैको चाहना सबै अर्जेन्टिनीको भलाई हो ।”

निर्वाचन आयोगका अनुसार करिब ९६ प्रतिशत मतगणना हुँदा अल्बर्टो फर्नान्डेजले करिब ४८ प्रतिशत र राष्ट्रपति म्याक्रीले ४० प्रतिशत मत प्राप्त गरेका थिए । अन्तिम चुनावी नतिजा सार्वजनिक गर्न भने बाँकी छ । दुबै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेको अवस्थामा पनि कम्तीमा दुबै उम्मेदवारबीच १० प्रतिशतको अन्तर हुनु पर्नेछ अन्यथा आगामी नोभेम्बर २४ मा दोस्रो चरणको मतदान हुनेछ ।

म्याक्रीले यसअघि सन् २०१५ मा मुलुकको अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धता जनाउँदै चुनाव जित्नु भएको थियो । त्यसबखत क्रिस्टिनाले रोजेका उम्मेदवार पराजित भएका थिए । अर्जेन्टिनाको यस चुनावमा १३० जना तल्लो सदनमा र कङ्ग्रेसमा २४ जना सिनेटर पनि छानिएका छन् ।



प्रतिक्रिया दिनुहोस्