Logo

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



सप्तरी, ११ कात्तिक । राजविराज–रुपनी सडकखण्डको राजविराज नगरपालिका–९ मलेठमा ट्र्याक्टरले ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबार मोटरसाइकल चालक रुपनी गाउँपालिका–५ मुसरहनियाका १९ वर्षीय दिपेश यादवको मृत्यु भएको प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।
ठक्करबाट यादवको दाहिने हात र पाखुरामा गम्भीर चोट लागेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको स१त ४३६९ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा३८प ७१९५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार रुपनी गाउँपालिका–५ कै २२ वर्षीय रुपेशकुमार खङ्गको दुवै खुट्टामा चोट लागेर घाइते भएका छन्। उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए।

यस्तै कञ्चनपुर–फत्तेपुर सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा मोटरसाइकलको ठक्करबाट सप्तकोशी नगरपालिका–१ नयाँबजार बस्ने ३५ वर्षीय राजेश शर्माको घटनास्थलमै मृत्यु भएको छ । कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ५२७ नंको मोटरसाइकलले उनलाई ठक्कर दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्