Logo

कालभैरवको मूर्ती किन हसिलो



नरमुण्डा माला लगाएको काल भैरवको मूर्तीलाई बेग्लै मन्दिर नबनाएर खुला आकाश मुनि पर्खालमा टसाएर राखिएको हुन्छ । मध्यकालमा कालभैरव मूर्ती अगाडि अपराधीलाई दण्ड सजाय दिने चलन थियो । यसको अगाडि उभ्याएर अपराधीलाई अपराध स्वीकार गर्न लगाइन्थ्यो भने कतिपय अपराधीहरु यहाँ आइपुग्नसाथ डरले आत्मा हत्या गर्ने इतिहासमा भेटिन्छ । यस्तो डर लाग्दो मूर्ती भने आफू हाँसी रहेको छ । भनिन्छ कालभैरवको मूर्ती अगाडि उभिएर काल भैरवको मूर्तीको प्रतिमाको चेहेरा हेर्दा स्वयम हास्ने गरिन्छ । यसको रोचक किंवदन्ती रहेको छ ।

पहिले पहिले कुनै कसुरमा दसी प्रमाण नभेटिएमा कालभैरवको पाउँ छुवाएर क्रिया खुवाउने चलन थियो । यसरी क्रिया खादा झुटो बोल्यो भने त्यो मान्छे उक्त ठाउँमा रगत छादेर मर्ने गर्दथ्यो भन्ने भनाइ रहेको छ । एउटा हाकिम धेरै नै घुस्या प्रवृत्तिका थिए तर उनले गरेका बदमासीको प्रमाण कसैले पनि पत्ता लगाउन सकेका थिएनन् । उनका विरुद्ध उजुरी प¥यो । उजुरी गर्ने मानिस पनि अत्यन्त विश्वासिला थिए । तर प्रमाण जुटाउन सकिएन । त्यसपछि उनलाई कालभैरवको पाउँ छुवाएर क्रिया खुवाउने फैसला भएछ ।

उनलाई भोली क्रिया खुवाउने खबर गरियो । फैसला सुनेर घर आएपछि उनी नुन खाएको कुखुरा झै झोक्राएर बसेका थिए । उनकी आमाले छोरालाई उदास अवस्थामा फर्कीएर आएको देखेपछि सोधिन र उनले आफ्नो सत्य कुरा आमालाई बताए । र, उनले भने आमा भोली मलाई कालभैरवको पाउँ छुवाएर क्रिया खुवाइदैछ अब म के गरौँ । छोराको यस्तो कुरा सुनेपछि आमाले भनिन् यती जाबो कुरामा किन पीर लिनु मलाई यसबाट बच्ने सजिलो तरीका थाहा छ, तर त्यसका लागि तिमीले नाङ्गै भएर मेरो काखमा बसेर दुध चुस्नुपर्छ । र, भोलीपल्ट भन्ने कुरा पनि म सबै तलाई सिकाइदिन्छु । आमाको यति कुरा सुनेपछि हाकिम खुसी भए र आफू सर्वाङ्ग भएर उनले आमाको काखमा बसेर र दुध चुसे ।

भोलीपल्ट सबै भैरव स्थानमा जम्मा भएर र घुस्याहा हाकिम पनि गए । उनलाई क्रिया खान भनियो । हाकिमले कालभैरवको पाउँमा छोएर भने मैले अजान छँदा नाङ्गै आमाको काखमा बसेर दुध खानु अघि त मैले केके गरे म भन्न सक्दिन । तर त्यसपछि मैले आजको दिनसम्म घुस खाने वा गर्न नहुने काम गरेको छैन, मैले त्यस्तो गरेको भएदेखि रगत छादेर मेरो मृत्यु होस् । उनले चलाखीपूर्व यस्तो क्रिया खाएको सुनेपछि कालभैरवको मूर्ती पनि हास्यो । त्यही बेलादेखि हासेको मूर्ती आजसम्म पनि हासिरहेको किंवदन्ती रहेको छ ।

धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्