Logo

गाउँलेको ३० लाख रुपैयाँसहित कर्मचारी फरार



धनुषा, १४ कार्तिक । धनुषाको एक गाउँको कथा सुनेर कतिपयलाई पत्यार नलाग्न सक्छ, जहाँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरू कंगाल बनेका छन्।

जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दूरीमा पर्छ, शान्तिपुर गाउँ। बटेश्वर गाउँपालिका–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन्।

मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्तिलाई ऋण दिए। तर, ऋण लिने व्यक्ति नै फरार भएपछि उनीहरू अहिले बिचल्लीमा छन्।

चार वर्षअघि गाउँकै सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंह छिमेकी लघुवित्त विकास बैंकको सहजकर्ता बनेर आइन्। जसोधाले मासिक बचत गर्नेगरी पाँचजनाका दरले पाँचवटा समूह बनाइन्। प्रतिमहिना सदस्यहरूले तीन सय रुपैयाँका दरले जम्मा गर्न थाले। जम्मा गरेको तीन वर्ष पनि बित्यो।

तीन वर्ष पूरा भएपछि संस्थाकी कर्मचारी जसोधाले आफूलाई आवश्यक परेको भन्दै सदस्यले जम्मा गरेको पैसा निकालेर व्यक्तिगत काममा प्रयोग गरिन्। गाउँलेको पैसा लिएर जसोधा भागेपछि सबैले महेन्द्रनगर प्रहरी चौकीमा संयुक्त उजुरी दिए। घटना यहाँ समाधान हुन नसक्ने भन्दै उसले जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको छ।

तर, धनुषा प्रहरीले पनि चासो नदिँदा जसोधा पक्राउ परेकी छैनन्। गाउँका २५ जनाको मिलाएर करिब ३० लाख रुपैयाँ लिएर फरार भएकी जसोधाका सासूससुरा गाउँमै रहेकाले उनीहरूले उनका सासूससुराविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गराएका छन्। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्