Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थाबारे चासो र चिन्ता, के छ अवस्था



काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार विहान अचानक अस्पताल भर्ना भए । उनलाई ग्रान्डी अस्पतालको आइसीयूमा राखियो ।
१२ वर्ष अघि मृगौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्यजाँचका लागि देश र विदेशका नाम चलेका अस्पताल पुग्दै आएका उनको स्वास्थ्यवस्था सामान्य रहेको भनियो ।

उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल र उपचारमा संलग्न चिकित्सकहरुले पनि सामान्य भने । मृगौला प्रत्यारोपण गरेपछि उपचारका लागि देश विदेश पुग्ने गरेका ओलीको स्वास्थ्यलाई चिकित्सकहरुले सामान्य भन्नु आश्चर्यको विषय हो । त्यसमाथि उनी बुधबार विहान ज्वरो आएपछि अस्पताल लगिएका थिए ।

ओली अचानक अस्पताल भर्ना भएपछि सर्वत्र चासो र चिन्ता बढेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै भनेका छन्, ‘राजनीतिमा विपक्षमा छौं, तर उहाँको सेवा अझै देशले खोजेको छ ।’

ओली पछिल्लोपटक ५ भदौमा सिंगापुरमा नियमित चेकजाँच गरी २० भदौमा फर्किए । साउनमा पनि उनी सिंगापुर पुगेर फर्किएका थिए ।
उपचारका लागि देश विदेश पुगिरहेका ओलीको स्वास्थ्यबारे यथार्थ जानकारी नआएको आशंका बढेको छ । यस्तै शैली उत्तर कोरिया र क्युवामा पनि अपनाइन्थ्यो । विगतमा किम जोङ इलको स्वास्थ्यबारे त्यहाँका जनता यथार्थ जानकारी पाउँदैनथिए । क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको स्वास्थ्यवस्थाबारे पनि यथार्थ जानकारी बाहिर आउँदैनथियो ।

सोभियतकालिन कम्युनिष्ट नेताहरुको शैलीमा ओलीको स्वास्थयबारे उनकै सहयोगीमार्फत यथार्थ जानकारी नदिएकोबारे सामाजिक सञ्जालहरुमा असन्तुष्टि समेत पोखिएको छ । आफ्नो देशको प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे जनताले चिन्ता र चासो व्यक्त गरिरहँदा यथार्थ नल्याइएको आशंका बढेको छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्