Logo

मुक्त हलियाका महिलाहरुको जग्गामा स्वामित्व बढ्दै



कञ्चनपुर, १४ कात्तिक : कञ्चनपुरका मुक्त हलियाका महिलाहरुको जग्गामा स्वामित्व बढाउनका लागि संयुक्त जग्गाधनी पुर्जा वितरण कार्य अगाडि बढाइएको छ ।

जग्गामा बराबरी स्वामित्वले परिवार र समाजमा महिलाको मानसम्मान र पहिचान बढ्ने भएकाले संयुक्त जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

चालू आवमा पुनःस्थापनमा परेका पुनर्वास नगरपालिका–९ का ४२ मुक्त हलिया परिवारलाई उपलब्ध गराएको जग्गामा महिला र पुरुषको बराबरी स्वामित्व कायम हुने गरी संयुक्त जग्गाधनी पुर्जा वितरण गरिएको छ । गत वर्ष भीमदत्त नगरपालिकाको तिलाचौरका १५, ब्रह्मदेवका १४ र शुक्लाफाँटा नगरपालिकाको खल्लाका १९ मुक्त हलिया परिवारलाई महिला र पुरुषको समान स्वामित्व हुने गरी संयुक्त जग्गाधनी पुर्जा वितरण गरिएको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले बताए ।

जग्गाधनी पुर्जामा श्रीमान्को मात्रै नाम हुँदा बहुविवाह गर्ने, श्रीमतीको इच्छाविपरीत जग्गा–जमीन बिक्री गर्ने तथा घरेलु हिंसा गरी घर निकाला गर्ने, लाउनखान नदिने समस्यालाई संयुक्त पुर्जाको व्यवस्थाले घटाउने उन्लोए बताए । “महिला पुरुषको जग्गामा बराबरी स्वामित्व भएमा कृषि उत्पादन बढाइ पारिवारिक र समुदायस्तरको खाद्य अधिकार सुनिश्चित गर्ने भएकाले परिवारमा मेलमिलाप, आत्मविश्वास, पहिचान र सुरक्षाको अनुभूति हुने हुँदा संयुक्त जग्गाधनी पुर्जा वितरणमा जोड दिएका छौँ”, उनले भने ।

“जग्गामा भएको समान हकले महिलाहरु वित्तीय कारोवार ऋण लिन, उद्यम गर्न, सापटी लिन र दिन सक्षम हुन्छन”, उहाँले भन्नुभयो, “यस कार्यले महिलाको सशक्तीकरण पक्षलाई बढाउँछ । श्रीमान्मा रहेको परनिर्भता घट्छ र विभेद हटी घरेलु हिंसाका घटनामा कमी ल्याउन सकिन्छ ।”

विसं २०६८ को जनगणनाअनसार सुदूरपश्चिमका २२ हजार ३०० महिलाका नाममा घर र जग्गा दर्ता छ । यसमध्ये १४ हजार महिलाले मात्रै जग्गामा स्वामित्व पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्