Logo

प्लाष्टिकमुक्त अभियान प्रभावहिन



नेपालगञ्ज, १४ कात्तिक : नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’अभियान प्रभावहिन बन्दै गएको छ । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्री तयार गरेर नगरका चोक–चोकमा झुण्ड्याइएको त छ, तर, परिणाम शून्य प्रतिशत भन्दामाथि उठन सकेको छैन् ।

‘हामी अभियानलाई सार्थक परिणाम सम्म पुर्याउन प्रयासरत छौ । विस्तारै सफल हुँदै जाने हो, एकै पटक उल्लेख्य परिणाम त आउदैन्’—नगर प्रमुख डा. धवलशम्शेर राणाले भने । उपमहानगरपालिकाले गैरसरकारी संस्थाहरुसँग सहकार्य गरेर विकल्पको रुपमा कपडा र कागजका झोला र बोराहरु उत्पादन गरेर बितरण गरेको बताए पनि त्यसको प्रयोग कहि कतै भएको देखिदैन् । झण्डै ४ महिना अघि शुरु गरिएको यो अभियान अहिले कोठे बैठक, सरोकारवालासंगको अन्तरक्रिया, पर्चा, पोष्टरमै मात्र सीमित देखिएको छ ।

अर्कोतर्पm, उपमहानगरपालिकाले प्लाष्टिकजन्य प्रयोगलाई न्यूनीकरण गर्दै निषेध गर्ने सम्मको तयारी गरिरहेकोे जनाए पनि गत बर्षदेखि लागू गरेको फोहरमैला व्यवस्थापन ऐनले प्लाष्टिकजन्य फोहरलाई भने समेट्न सकेको छैन । यो ऐन नै अद्यावधिक गर्नु पर्ने अवस्था एकातिर छ भने अर्कोतर्पm यस बर्षको कार्यक्रम र बजेटमा पनि फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना बनाउने बिषय समेटिएको छैन ।

नमिलेको विषयवस्तु हामी मिलाउछौ, ऐन, नियम बनाउनेदेखि संशोधन गर्ने, बजेट विनियोजन गर्ने लगायतका सबै कुरा अभियानको कार्यक्रम भित्र समेटिने नगर प्रमुख राणाको भनाइ छ ।

अभियानको कार्यक्रमअन्तर्गत अहिले विभिन्न संघ संस्थाहरुले प्लाष्टिकजन्य फोहर संकलन पनि गरिरहेका छन् तर प्लाष्टिकजन्य पदार्थलाई छुट्याएर राख्ने भने गरिएको छैन ।

उपमहानगरपालिकाले विशेषगरि पोलिथिन प्रयोग नियन्त्रणको पहल गरिरहेको छ । कपडा र कागजको झोला प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । तर प्लाष्टिक जन्य प्रदुषण रोक्न सरकारी निकायको पहलले मात्र सम्भव छैन । नेपालगञ्जमा प्लाष्टिकका झोला उत्पादन गर्ने प्रयास गरिएको छ तर त्यसले अझैं बजार पाएको छैन ।



प्रतिक्रिया दिनुहोस्