Logo

चार कोइराला एकै ठाउँः शेखर, सुजाता र सशांकसँगै जोडिए प्रकाश (तस्बिरसहित)



काठमाडौं, १४ कात्तिक । यसवर्ष प्रकाश कोइराला पनि सुजाता कोइरालाको हातबाट टीका लगाउन पुगे । गिरिजाप्रसाद कोइराला शक्तिमा हुँदा कोइराला परिवारबाट राजनीतिक उत्तराधिकारी बन्न रस्साकस्सी गरेका यी दुईले एक अर्कालाई सप्तरंगी टीका लगाइदिए ।

वीपीपुत्र प्रकाश राजाको पालामा मन्त्री बनेपछि राजनीतिमा नराम्ररी पछारिए । प्रकाश राजसंस्थाका पक्षधर बने सुजाता गणतन्त्रवादी । दुवैको मन लामो समय मिलेन । यसपाली भाइटीकाले दुवैको मिलन गरायो । प्रकाशले बहिनी सुजातालाई पनि टीका लगाएर उपहार दिए ।


सुजाताले दाजु डा. शेखर कोइरालालाई पनि टीका लगाएर उनको हातबाट टीका लगाइन् । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका भाई डा. सशांक कोइरालालाई पनि टीका लगाइदिइन् । चारैजना कोइराला परिवारका सदस्यहरुले साथ बसेर तस्बिर पनि खिचे । सबैको मुहारमा खुशी र उत्साह भरिएको थियो ।

 

राजनीतिक शक्तिका लागि लामो समय संघर्ष गर्ने क्रममा एक अर्काबाट टाढिएका थिए उनीहरु । प्रकाश कोइराला काँग्रेसको भावी सभापतिको प्रतिष्पर्धी रहेनन् । गिरिजाप्रसादकी एकमात्र छोरी सुजाता शेखर र सशांकमध्ये एक बनुन् भनेर लागेकी छिन् । सुजाताले कोइराला परिवारमा एकता बनाउन पछिल्लो समय निकै मिहेनत गरिरहेकी छिन् । क्यान्सरको संक्रमणपछि निकै परिवर्तन भएकी सुजाताले परिवार मिलाउन भूमिका खेल्न थालेबाट भाइटीकामा कोइराला परिवारको मिलन सफल भएको बुझिएको छ ।

तस्बिरः सुजाता कोइरालाको फेसबुक



प्रतिक्रिया दिनुहोस्