Logo

महरा प्रकरणको २६ दिनमा के के भयो



काठमाडौं, १४ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको अभियोग लागेपछि प्रहरीले हिरासतमा राखेको २५ दिन पूरा भएको छ । हिरासतमा राखेर अनुसन्धान पूरा गरिसक्नुपर्ने म्याद सकिएकाले आज थुनछेकको बहसपछि उनी पुर्पक्षका लागि थुनामा रहने या धरौटीमा रिहा हुने टुंगो लाग्दैछ ।

१९ असोजमा पक्राउ पर्नुअघि महरा प्रकरणले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । उनी प्रहरीको नियन्त्रणमा रहनुभन्दा सात दिन अघि पनि विभिन्न घटना घटेका थिए ।

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि रोशनी शाहीले जर्बजस्ती अभियोग लगाइन् । उनले प्रहरीमा मौखिक उजूरी दिइन् भने मिडियामा यसको खुलासा गरिन् । १२ असोजको यो घटनाको भोलिपल्ट जे जस्ता विषय बाहिर आए १४ असोजबाट विपरित विषय आउन थाले । रोशनी स्वयं महराले जर्बजस्ती नगरेको विषय बाहिर ल्याइन् । त्यसपछि उनको बयान र गतिविधि आश्चर्यजनक रुपमा परिवर्तन हुन थाले ।

१८ असोजमा रोशनीको किटानी जोहरीले महरा १९ असोजमा पक्राउ परे । तर, ३ कात्तिकमा उनले महराविरुद्ध जाहेरी प्रहरीको करकापले गरेको अदालतसमक्ष बयान दिइन् । उनीमाथिको थुनछेक बहस १४ कात्तिकमा भयो । यो २६ दिनबीच के के भएः

१२ असोजमा रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेका भनिएका महराबारे प्रहरीलाई सोही राति नै जानकारी पुगिसकेको थियो । प्रहरीले राति नै प्रारम्भिक अनुसन्धान गरिसकेको थियो । यो खुलिसकेको विषय हो ।

१३ असोजमा हाम्रा कुरालाई रोशनीले अन्तवार्ता दिएर जर्बजस्ती गरेको देखि महरासँगको पुरानो र वर्तमानको सम्बन्ध खुलाएकी थिइन् ।

१४ असोजमा महराले नेकपाभित्रको दबाबपछि राजीनामा दिए । सोही दिन रोशनी शाहीको भनाई बदलियो । विहानसम्म महराका स्वकीय सचिवले जारी गरेको विज्ञप्तिको खण्डन गरेकी उनले दिउँसो महरा निर्दोष रहेको भन्नथालिन् । उनले नागरिकन्यूजलाई अन्तवार्ता दिएर महराको पक्षमा बोलिन् । त्यसपछि उनी लगातार महराको पक्षमा उभिइन् ।

१६ असोजको विहान उनको सम्बन्ध विच्छेदको विषय बाहिर आयो । पति चित्रजंग शाहीले डिभोर्सको सम्झौता गरेको पत्र सार्वजनिक गरे ।

१७ असोजमा महरा प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखायो । प्रहरीसँग यस घटनाबारे जानकारी माग्यो । लगत्तै राष्ट्रसंघीय नियोग र नेपालस्थित पाँच देशका कुटनीति नियोगले संयुक्त विज्ञप्ति जारी गरी महरा प्रकरणतर्फ लक्षित गर्दै नेपालमा महिला हिंसाबारे चासो व्यक्त गरे ।

१८ असोजमा घटनाले अर्को मोड लियो । रोशनी शाहीले प्रहरीमा कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दिइन् । योसँगै अब घटनाको अनुसन्धान नयाँ मोडमा पुग्यो ।

१९ असोजमा महरा पक्राउ । पक्राउ अघि नेकपा नेताहरुको परामर्श । महरालाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओली देखि गृहमन्त्री रामबहादुर थापा बादलको अनौपचारिक निर्देशन ।

२३ असोजमा महरा रक्तचाप र स्वासप्रश्वासको समस्या आएको भन्दै नर्भिक अस्पताल भर्ना

२८ असोजमा महरालाई हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गरायो, पाँच दिन म्याद थप

१ कात्तिकमा महरासँग प्रहरीको बयानको प्रयास, स्वास्थ्यमा खराबी भएको भन्दै महरा सीसीयूमा भर्ना

३ कात्तिकमा महरालाई अदालतमा उपस्थित गराइयो, रोशनी शाही उपस्थित भई महराको बचाऊ । सोही दिन पाँच दिन म्याद थपको अनुमति

७ कात्तिकमा महरालाई थप एक हप्ता हिरासतमा राख्न म्याद थपको अनुमति, महराको तिहार हिरासतमा

१४ कात्तिकमा महरामाथि थुनछेकको बहस



प्रतिक्रिया दिनुहोस्