Logo

छात्रा नियमित विद्यालय जान थाले



कञ्चनपुर, १५ कात्तिक : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय सञ्चालन भएपछि रजस्वला भएका छात्राहरु नियमित विद्यालय जान थालेका छन् ।

विद्यालयकै आन्तरिक स्रोतबाट छात्रा शौचालयको अवस्थामा सुधार गरिएपछि रजस्वला हुँदा विद्यालय नआउने छात्रा विद्यालय नियमित आउन थालेका हुन् । शौचालयभित्रै पानी, सेनेटरी प्याड, ऐना, साबुनलगायतको व्यवस्था गरेका छौँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर साउदले भने , “शौचालयको भित्रपट्टिबाटै रजस्वला भएका बेला छात्राले प्रयोग गरेका प्याड फाल्नका लागि इन्सुलेटर अलग्गैरूपमा निर्माण गरिएको छ ।”

“छात्राहरुले शौचालय प्रयोग गर्न निकै कठिनाइको सामना गर्नुपर्दा रजस्वला हुँदा विद्यालय नआउने गरेका थिए”, उनले भने , “छात्रामैत्री शौचालय निर्माण गरिएपछि छात्राहरुको सहजरूपमा शौचालयको प्रयोगमा पहुँच पुगेको छ ।” रजस्वला भएपछि विद्यालय नआउने छात्रा निसङ्कोच विद्यालय पुग्न थालेको उनले बताए ।

उहाँका अनुसार शौचालयको व्यवस्थापनको जिम्मा विद्यालयकै एक महिला शिक्षकलाई जिम्मा दिइएको छ । महिला शिक्षकले शौचालय सरसफाइ भए-नभएको र आवश्यक सामग्री रहे-नरहेकाबारे जानकारी लिई व्यवस्थापन गर्दै आएका छन् । गत वर्ष विद्यालयमा २७८ छात्रा भर्ना भएकामा यस वर्ष ३२७ छात्रा भर्ना भएका छन् । विद्यालयमा भर्ना भएका छात्रा शौचालयकै सहजताका कारण विद्यालय आउने गरेका छन् ।

‘‘विद्यालयका चार भवनमा रहेका १३ शौचालय सरसफाइको कमीले एउटा पनि सञ्चालनमा थिएनन्’’, अध्यक्ष साउदले भने , “शौचालयका ट्याङ्की पूरै भरिएर प्रयोगविहीन बनेपछि विद्यालयमा अध्ययन गर्दै आएका छात्र–छात्रा र शिक्षकले नजिकैको किसानको केरा बारीमा पुग्नुपर्ने बाध्यता थियो ।”

“सबै शौचालयमा सरसफाइ गरी प्रयोग गर्न सक्ने बनाएका छौँ । पहिले पानीको व्यवस्था थिएन । अहिले पानीका लागि विद्युतीय मोटर जडान गरी एक हजार लिटरका दुई पानीट्याङ्कीको व्यवस्था गरेपछि शौचालय प्रयोगमा आएका छन्”, विद्यालय व्यवस्थापन समितिका सदस्य धनबहादुर चौधरीले भने । अपाङ्गता भएका छात्र–छात्रालाई समेत शौचालय प्रयोगमा सहजता ल्याउन ¥याम्पको व्यवस्था मिलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्