Logo

छठ मनाउन नदी किनार सिङ्गारिँदै



भद्रपुर, १५ कात्तिक : झापाका नदी किनारहरु आज बिहानैदेखि सिङ्र्गान थालिएको छ । तराइवासीको मुख्य चाड छठपर्वलाई भव्यताका साथ मनाउन मारवाडी, बङ्गाली, राजवंशी र केही पहाडीमूलका मानिसले नदी किनारमा पूजाका घाट तयार गर्दै सिङ्गारेका हुन् ।

विशेषगरी कनकाई, मेची, रतुवा, निन्दा, अन्धुवाखोलालगायतका दर्जन बढी नदीका किनारमा पूजाको घाट तयार गरिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै भव्यरूपमा छठपर्व मनाइने भएको छ ।

भद्रपुरस्थित मेची नदीमा छठपर्व भव्य र व्यवस्थित तरिकाले मनाउनका लागि समिति नै गठन गरिएको छ । भारतको पश्चिम बङ्गाल तथा बिहार गरी दुई राज्यसँग जोडिएको मेची नदीमा मनाइने छठले जिल्लाका अन्यत्रभन्दा भिन्नै रौनक दिने गरेको छ ।

भद्रपुर नगरपालिका कार्यालयको सहयोगमा मैथिली समाज र युनिक समूहले मेची नदीमा पूजास्थल (घाट) देखि बिजुलीबत्ती जडान, स्वागत गेट, हेल्पडेस्क, अस्थायी बाँसे पुल निर्माण, सरसफाइ, सडक, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, सूर्य भगवान्को मुक्तिस्थल निर्माणलगायत काम गरिरहेका छन् । मेची नदीमा मात्र नेपाल र भारतका गरी ५० हजारभन्दा बढी भक्तजनहरू आउने लक्ष्य राखिएको भद्रपुरको मैथिली समाज समितिका अध्यक्ष रमेशचन्द्र झाले बताए ।



प्रतिक्रिया दिनुहोस्