Logo

बेलायती प्रधानमन्त्रीद्वारा ब्रेक्जिट प्रतिबद्ध



लन्डन, १५ कात्तिक । बेलायतको प्रधानमन्त्रीको कार्यालयले युरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिटकै गतिरोधका कारण बेलायत र अमेरिकाबीच हुन लागेको व्यापार सम्झौता लगभग असम्भव रहेको चेतावनी दिएसँगै बेलायतको उक्त भनाई सार्वजनिक भएको हो ।

“यो व्यापार सम्झौता अब होला भन्ने लाग्दैन । हामी बेलायतसँग व्यापार सम्झौता गर्न सक्दैनौं,” बेलायती मतदातालाई प्रभावित तुल्याउने गरी एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भनेको छ । ब्रेक्जिटमा संसदभित्र सहमति नजुटेपछि बेलायतमा आगामी डिसेम्बर १२ मा संसदका लागि मध्यावधि चुनाव हुँदैछ ।

युरोपेली संघबाट बेलायतको बहिर्गमन हुनासाथ दुबै देशबीच “निकै राम्रो व्यापार सम्झौता” गर्न आफू तयार रहेको गत सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पले बताएका थिए । तर राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले अन्यौल बढाएको छ ।

अमेरिकी राष्ट्रपतिले बेलायती मुख्य विपक्षी नेता जेरेमी कोर्बिनमाथि निरन्तर आक्रमण गरिरहेको छ । ट्रम्पले सन् २०१६ को जनमतसंग्रहमा मुख्य भूमिका निर्वाह गरेका नाइजेल फाराजसँग एकता गर्न पनि प्रधानमन्त्री जोन्सनलाई सुझाव दिएको छ ।

“कोर्बिन त बेलायतका लागि निकै खराब मानिस हुन्,” ट्रम्पले नाइजेल फाराजलाई फोन गरी बताएको बेलायती रेडियो स्टेशन एलबिसीले प्रशारण गरेको छ । “म तपाईं र बोरिस मिलेको हेर्न चाहन्छु, र मेरो विचारमा मुलुकका लागि यो निकै राम्रो हुनेछ ।”

नयाँ ब्रेक्जिट पार्टी गठन गरेको छ फाराजले युरोपेली संघबाट कुनै सम्झौता बेगर नै बेलायत बाहिरिनु उपयुक्त हुने भन्दै चुनावी प्रचार गरिरहनु भएको छ । फाराजले चुनावी गठबन्धन बनाउन आग्रह गरे पनि प्रधानमन्त्री जोन्सनले उक्त प्रस्ताव अस्वीकार गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको अन्तर्वार्ता प्रशारण भएलगत्तै बेलायती संसदमा मुख्य विपक्षी दलका नेता कोर्बिनले ट्वीट गर्दै बोरिस जोन्सनलाई जिताउन ट्रम्पले बेलायतको चुनावमा हस्तक्षेप गर्न कोसिस गरेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्