Logo

बग्दादी मारिए संगै इस्लामिक स्टेटद्वारा नयाँ नेता चयन



बेरुत, १५ कात्तिक । इस्लामिक स्टेट्स (आइएस) समूहले उनीहरुका नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले नयाँ नेताका रुपमा अबु इब्राहिम अल कुरैशीलाई नियुक्ति गरेको बिहीबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

‘हामी तपाइँलाई एक वफादार कमाण्डरको रुपमा नियुक्त गर्दछौँ’ जिहादी समूहका प्रवक्ता अबु हमजा अल कुरैशीले बग्दादीको निधनमा दिएको शोक अडियोमा बताएका छन् ।अमेरिकी विशेष फौजले गत आइतबार गरेको एक कारबाहीमा बग्दादी सिरियाको इद्लिबमा मारिएका थिए । आइएस लडाकू सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेपछि अल बग्दादी समूहका नेता घोषणा भएका थिए ।

आइएसले नियुक्त गरेका नयाँ नेताको विस्तृत विवरण र तस्वीर भने सार्वजनिक गरिएको छैन । तर उनीहरुले आफ्ना नयाँ नेता पश्चिमाहरूविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकू भएको दाबी गरेका छन् ।सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतङ्ककारी घोषणा गर्दै उनलाई पक्राउ गर्ने व्यक्तिलाई दुई करोड ५० लाख डलरको पुरस्कार घोषणा गरेको थियो ।

आइएसका नेता अबु बकर अल–बग्दादी अमेरिकी हवाई कारबाहीमा मारिएको अमेरिकाले गत आइतबार दाबी गरेको थियो । विश्वमै सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको इड्लिबमा अमेरिकी सेनाको कारबाहीमा मारिएका हुन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शनिबार राति “आज ठूलै कुरा हुँदैछ” भन्दै ट्वीट गरेको थियो ।उत्तरी सिरियाबाट अमेरिकी सेना फिर्ता भएलगत्तै इस्लामिक स्टेट्सको प्रभाव बढ्ने अनुमान भइरहेका बेला त्यसै सङ्गठनका प्रमुख नेता मारिएको खबर सार्वजनिक भएको थियो ।कुनै समय इराक, सिरिया समेतको ठूलो भू–भागमा कब्जा जमाउन सफल इस्लामिक स्टेट्सको पछिल्लो समय पराजयको क्रम शुरु भएको बताइन्छ ।अल–बग्दादीले विगत पाँच वर्षदेखि इस्लामिक स्टेट्सको नेतृत्व गरिरहेका थिए । चरमपन्थी इस्लामिक यस सङ्गठनको इराक र सिरियामा प्रभाव रहेको बताइएको छ ।

अल–बग्दादीको मृत्यु भइसकेको बताइए पनि उनी पछिल्ला केही वर्षदेखि भूमिगत थिए । कतिपयले उनको मृत्यु भइसकेको दाबी गरिरहेका थिए ।यो सङ्गठनका समर्थकले युरोप र अमेरिकी भू–भागमा आतङ्कवादी आक्रमण गरेका थिए । इस्लामिक स्टेट्सले पछिल्लो समय हत्या हिंसामार्फत जनजीवन त्रसित बनाउने गरेका थिए ।बग्दादीले पछिल्लो समय गत महिना एउटा अडियो रेकर्ड सार्वजनिक गर्दै आफ्ना लडाकू, एवम् आफू र आफ्ना परिवारका सदस्यलाई मुक्त गर्न अपिल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्