Logo

प्रधानमन्त्रीले आराम लिनुपर्छ-मीन विश्वकर्मा, नेता, नेपाली कांग्रेस



काठमाडौं, १५ कात्तिक ।  नेपाली काँग्रेसका मीन विश्वकर्मा बौद्धिक नेता हुन् । उनले समसामयिक राजनीतिक परिस्थितिका बारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग गरिएको कुराकानीः

नेपाली राजनीतिलाई नेपाली कांग्रेसले कसरी हेरिरहेको छ ?
संविधान भनेजस्तो गरी कार्यान्वयन गर्न नसक्नु, नेपालको राजनीति प्रणालीमाथिको प्रहार हुनु, जतिसुकै आर्थिक समृद्धिको नारा लगाएपछि राष्ट्रिय बजेट विकासतर्फ विनियोजन र कार्यान्वयन हुननसक्नु जस्ता विषयबाट नेपाली कांग्रेस चिन्तित बनेको छ । नेपाली कांग्रेस यतिखेर विभिन्न खाले अनियमितताबाट जकडिएको मुलुकलाई कसरी बाहिर निकाल्ने भनेर आन्तरिक र अरु दलहरुसँग पनि परामर्श र छलफलमा लागेको छ ।
नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार चलयका लागि सहमति जुटायो ?
उपनिर्वाचनमा चयन हुने उम्मेदवारप्रति नेपाली कांग्रेसभित्र कुनै विरोध छैन । यसमा कुनै मत विभाजित हुने छैन । सबै एकमत भएर सर्वसम्मत ढंगले उम्मेदवारी चयन गरिनेछ । यससँगै देशको समसामयिक राजनीतिक घटनाक्रमका बारेमा केन्द्रीय समिति बैठकमा छलफल हुने छ । जब देशमा राजनीतिक जटिलता देखापर्दछ । त्यसलाई सहज बनाउने जिम्मेवारी नेपाली कांग्रेसले लिने गर्दछ । त्यस्तै जटिलता अहिले पनि देखापर्न थालेको छ । यो सरकार बनेपछि जनताले जुन खालको आशा अपेक्षा गरेका थिए, त्यो पुरा गर्न सक्ने अवस्था देखिएन । त्यसैले जनताले अब त्यो जिम्मेवारी कांग्रेसलाई दिने अवस्था देखिएको छ । हामीले पहिला पनि भनेका थियौं, ‘कम्युनिस्टहरुले शासन चलाउँदा मुलुक ठीक ढंगले अगाडि जाँदैन’ भनेर । त्यसबेला हामीले जनतालाई बुझाउन सकेनौ । अहिले आएर जनताले त्यो कुरा बुझिसकेका छन् । र, देश चलाउन जिम्मेवारी कांग्रेसलाई नै दिनेछन् । त्यसकारण अरुदलको पनि साझेदारीमा कांग्रेसले जिम्मेवारी लिएर अगाडि बढ्छ ।
उपनिर्वाचनमा नेपाली कांग्रेसले अरु पार्टीसँग सहकार्य गरेर जाने सम्भावना छ ?
यो राष्ट्रिय निर्वाचन होइन, उपनिर्वाचन हो । त्यसैले जुन–जुन ठाउँमा आवश्यकता पर्दछ । त्यस ठाउँमा सम्भव भएसम्म सहकार्य गरेर जान सकिन्छ । कुनै ठाउँमा पनि नेकपासँग साझेदारी हुँदैन । बाँकी अन्य लोकतान्त्रिक शक्तिहरुसँग साझेदारी गर्न पनि सक्छौं र कुनै ठाउँमा नेपाली कांग्रेस एक्लै पनि निर्वाचन लड्छ । हामी स्थान अनुकूलता अन्य लोकतान्त्रिक पार्टीसँग सहकार्य गर्नेछौं ।
कांस्की २ मा कांग्रेसले कसलाई उम्मेदेवारी दिने भयो ?
केन्द्रीय समिति बैठकबाट नै टुंगो लाग्छ । त्यसबाट झन्डै डेढदर्जन साथीहरुको नाम प्रस्तावित भएको छ । सबै साथीहरु लोकप्रिय हुनुहुन्छ । कास्की काठमाडौंपछिको अर्को महत्वपूर्ण ठाउँ हो । त्यसैले यहाँका साथीहरु अत्यन्तै चिन्तित छन् । फेरि पोखरा पर्यटकीय क्षेत्र भएकाले पनि कम्युनिस्टले चुनाव जित्ने होइन, लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले चुनाव जित्नुपर्छ भन्ने कास्केली जनताको भित्री भावना छ । त्यसकारण त्यहाँ राष्ट्रिय महत्व राख्ने अन्य व्यक्ति पठाउने कि त्यहीका साथीहरुलाई दिने भन्ने दुई विषयमा छलफल भइरहेको छ । त्यसलाई केन्द्रीय समिति बैठकले नै टुंगो लगाउने छ ।
आज बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउँछ हो ?
आज ४ बजेसम्ममा नेपाली कांग्रेसले कास्की २ मा उम्मेदवार टुंगो लगाउँछ ।
कास्की २ कुनै शीर्ष नेतालाई पठाउनुहुन्छ कि त्यहींका स्थानीयलाई दिनुहुन्छ ?
त्यहाँ बाहिरका कुनै शीर्ष नेताहरु जानुहुन्न । गण्डकी भेगकै लोकप्रीय नेताहरु जानुहुने छ । त्यही क्षेत्रको व्यक्ति नै त्यहाँको उम्मेदवार हुनुहुनेछ ।
धनराज गुरुङको सम्भावना कत्तिको छ ?
उहाँको नाम पनि केन्द्रीय समितिमा प्रस्ताव भएर आएको छ । उहाँ एउटा राम्रो छवी भएका नेता मध्येमा पर्नुहुन्छ । त्यस ठाउँका जनताले पनि उहाँलाई रुचाएका छन् । सँगसँगै स्थानीय नेताहरुले पनि आकांक्षा राखेका छन् । त्यसकारण नेपाली कांग्रेस केन्द्रीय समितिमा आएका नामबाटै लगनशीलता, प्रभावकारिता, जनताको कामप्रति अभिरुचि राख्ने सबै माझ साझा छवी भएका उम्मेदवार छनोट गरिनेछ । ती का नेता उम्मेदवारप्रति नेपाली कांग्रेसमा सकैको विमति हुने छैन ।
नेपाली कांग्रेस नेविसंघ लगायत भ्रातृ संगठनहरुको अधिवेशन गर्न चुक्यो नि ?
यो सरकारले मुलुकलाई बर्बादितिर धकेलिरहेको छ । हत्या, हिंसा, बलात्कारका घटनाक्रमहरु बढिरहेका छन् । अनियमितता र भ्रष्टाचारले मुलुक चुर्लुम्म डुबेको छ । त्यसकारण कांग्रेसले आन्तरिक विषयवस्तुमा रुमलिएर बस्ने र साना–साना केस्रा केलाएर बस्ने बेला होइन । मूख्य राजनीतिक घटनाक्रमबाट अलग्गिएर बसेको जस्तो कांग्रेसले देखिनुहुँदैन । फेरि कांग्रेस नेतृत्वले चाहँदाचाहँदै पनि गर्न नपाएकोमा उहाँ पनि त्यत्तिकै चिन्तित हुनुहुन्छ । तर, आपूmले गर्न पाउने अधिकार प्रयोग गरेर काम गर्ननसक्नुमा उहाँका पनि कमीकमजोरी देखिएका छन् । नेपाली कांग्रेस नेपालको अब्बलदर्जाको पार्टी बन्नुपर्छ । त्यसले जिम्मेवार ढंगले मुलुक र नेपाली जनताको काम गर्नुपर्छ । अहिलेको समस्यामा कांग्रेसले एकजुट भएर समाधान गर्नुपर्छ । कांग्रेसलाई गालीगर्दै सचेत गराउँदै देश विकासको जिम्मेवारी दिनुपर्छ । अब मुलुक बनाउन कांग्रेसको विकल्प छैन, भन्ने विश्वास अब नेपाली जनतालाई भइसकेको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यस्थिति सम्बन्धमा कांग्रेसको भनाइ के छ ?
यस्तो बेलामा प्रधानमन्त्रीको स्वास्थ्यको विषयलाई लिएर धेरै टिकाटिप्पणी गर्नु उचित होइन । मुलुकको भविष्यको लागि पनि प्रधानमन्त्री शीघ्र स्वास्थ्यलाभ हुनुपर्छ । तर, उहाँ लामो समयदेखि रोगले ग्रसित हुनुहुन्छ । उहाँलाई एकातिर देशको जिम्मेवारी अर्कोतिर रोगले गाँज्दै लानुले धेरै कष्ट भइराखेको छ । उहाँकै पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण उहाले पालो पाइराख्नुभएको छैन जस्तो लाग्छ । त्यो कारणले उहाँले विस्राम गर्न पाउनुभएको छैन । यसरी पटक–पटक विरामी भइराखेकाले केही समय बिस्राम लिएर राम्रोसँग उपचार गएर स्वस्थ भइसकेपछि फर्किने गरी कसैलाई जिम्मेवारी दिनु राम्रो कुरा हो । त्यो उहाँलाई थपेडी कम हुन्छ र छिटो स्वास्थ्यलाभ हुन सक्छ । एकातिर रोगको अर्कोतिर कामको प्रेसरले गर्दा उहाँले स्वास्थ्यलाभ गर्न कठिन भएको हो । त्यसकारण नेपाली कांग्रेस उहाँको सीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ ।
त्यसो भए कांग्रेसले उहाँको राजीनामा मागिरहेको हो ?
कहीलेकाही विरामी हुने भए खासै असर पर्ने थिएन । हाम्रा प्रधानमन्त्री लामोसमयदेखि विरामी हुनुहुन्छ । उपचार गरिरहनुपर्ने हुन्छ । उपचारका लागि बाहिर पनि गइरहनुपर्ने भएकाले कामभन्दा पनि उहाँको उपचारमा बढी समयले लाग्ने गर्दछ । त्यसकारण उहाँले सोचेअनुसार काम गर्न पाउनुभएन । त्यसले हामीले केही समय बिस्राम लिएर उपचारमा लाग्ने अनि फर्किने गर्दा हुन्छ भन्ने खोजेका हौं । हामीले भनेको उहाँकै स्वास्थ्यको लागि हो । उपचार गर्दा पनि धपेडीले गर्दा उहाँको स्वास्थ्य लाभ हुन सकेको छैन । त्यसैले केही विश्राम लिने जिम्मेवारी अरुलार्इृ दिने र आरामसाथ उपचार गर्दा राम्रो हुन्छ भन्न खोजेका हौं ।
तपाईंको भनाइ प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हो ?
त्यो पटक्कै होइन । यस्तो विरामी मान्छे उहाँ राति दुई बजे मात्रै सुत्नुहुन्छ भनिन्छ । झण्डै १८ घण्टा उहाँ काममा व्यस्त हुने गरेको कुरा बाहिर आएका छन् ।
उहाँ त दिनमा १८ घण्टा काम गर्नुहुन्छ रे नि ?
काम गरेर बस्नुहुन्छ कि त्यसै बस्नुहुन्छ, त्यसको खासै परिणाम त आएको छैन । तर उहाँ आराम कम गर्ने, भेटघाट बढी गर्ने हुनाले मुलुकको काम पनि नहुने र उहाँको स्वास्थ्यलाभ पनि हुने अवस्थामा हामीले दुईवटा कुराको कामना गर्नुपर्छ । पहिलो उहाँको स्वास्थ्य पूर्ण रुपमा स्वास्थ्य होस् । मुलुकमा हुनुपर्ने कामहरु नियमित होस् । अहिले त न प्रधानमन्त्रीको राम्रोसँग स्वास्थ्यलाभ भयो, न मुुलुकको कामले गतिलिन सक्यो । त्यसैले हामीले अत्यन्तै पवित्र मनले उहाँले स्वास्थ्यलाभको लागि केही दिन आराम गर्नुहोस् । अरुले मुलुकको कामलाई सुचारु गरे राम्रै हुन्छ भन्ने हाम्रो धारणा हो । उहाँले आफ्नै कारणले म उपचार पनि गराउँछु, पदको जिम्मेवारी पनि सम्हालिरहन्छु भन्ने हो भने त्यो उहाँको काबुबाहिरको कुरा हो ।
अहिले नै प्रधानमन्त्रीको राजीनामा माग्नु उपयुक्त समय हो ?
हामीले राजीनामै मागेका छैनौं । यो संवादबाट पनि राजीनामाको आशय लाग्दैन । अरु पद भए हुन्थ्यो केही दिन बिरामी बिदामा बस्दा पनि हुन्थ्यो । उहाँ त कार्यकारी प्रमुख नै भएकाले उहाँबिना त काम ठप्प हुन्छ त्यसकारण बिस्राम लिएर उपचारमा जाँदा राम्रो भनेका हौं । उहाँले बिरामी बिदा लिएर बस्दा मुलुकले पनि बिदा लिन्छ । त्यसकारण सरकारमा काम गर्नेले बिदा लिँदा भयो, तर, सरकारले बिदा हुनुभएन । राज्यले बिदा लिनुहुँदैन । राज्य र सरकार भनेको घडीको सुइजस्तो हो निरन्तर चलिरहनुपर्छ । जुन दिन चल्न छोड्छ, त्यो घडी बिग्रिन्छ । त्यसैले सरकार पनि जुन दिन चल्न छोड्छ त्यो राज्य बिग्रिन्छ । हामीले उहाँलाई राजीनामा दिइहाल्नुपर्छ भनेर कहाँ भनेका छौं र ।



प्रतिक्रिया दिनुहोस्