Logo

कार्यकर्तासँग यसरी जंगिए देउवा



काठमाडौं १६ कार्तिक । केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो एक बजेका लागि बोलाइएको थियो। केन्द्रीय नेताहरू आउने क्रम जारी थियो। एक बज्नुअघि नै नेपाल विद्यार्थी संघ आबद्ध केही नेताकार्यकर्ता पार्टी कार्यालयको मूल गेटमा नाराबाजी गरिरहेका थिए। उनीहरूले हातमा प्लेकार्ड बोकेका थिए। नेविसंघ नेतृत्वमा ३२ वर्षमुनिका नेतालाई ल्याउनुपर्ने माग गर्दै नाराबाजी भइरहेको थियो।

नेविसंघका पूर्वअध्यक्षहरूको तस्बिरसहितका प्लेकार्डमा लेखिएको थियो, ‘अबको अध्यक्ष कति वर्षको ? ’ उनीहरूले यो प्रश्न सोध्नुको प्रमुख कारण थियो, पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्षमा राजीव ढुंगानाको नाम प्रस्ताव गर्नु। नेविसंघ विधानमा ३२ वर्षको उमेर हद लगाइए पनि सभापति देउवाले चालिस वर्ष कटेकालाई संघको अध्यक्ष बनाउन खोजेको भन्दै नेविसंघका केही नेताकार्यकता पार्टी मुख्यालय पुगेर नाराबाजी गरिरहेका थिए।

त्यही बेला सभापति देउवा कार्यालय पुगे। उनी गाडीबाट उत्रनेबित्तिकै नेविसंघका नेताकार्यकर्ताले चर्काे नाराबाजी गरे। ‘विधान मिच्न पाइँदैन, टिके प्रथा खारेज गर’ जस्ता नाराबाजी गर्न थालेपछि देउवा आक्रोशित देखिए। उनी नाराबाजी गरिरहेका कार्यकर्तातर्फ अघि बढे। गाली गर्न थाले। ‘तिमीहरूलाई एक–एक गरेर कारबाही गर्छु, कसैलाई पनि छाड्दिनँ’ आक्रोशित देउवाले भने, ‘हुलहुज्जत गर्ने। जे पनि गर्ने ।’

देउवा आक्रोशित भएपछि नेविसंघका कार्यकर्ताले झन् चर्काे स्वरमा नाराबाजी गर्न थाले। एकातिर देउवाको आक्रोश, अर्काेतर्फ कार्यकर्ताको नाराबाजी चर्काे हुन थालेपछि सुरक्षाकर्मीले देउवालाई घेरा हालेर कार्यालयभित्र छिराएका थिए। देउवा कार्यालय छिर्ने बेला पनि निकै आक्रोशित मुद्रामा देखिएका थिए। उनी नाराबाजी गर्ने विद्यार्थी नेता कार्यकर्तालाई हप्काइरहेका थिए। ‘उहाँ झर्र्नेबित्तिकै आक्रोशित हुनुभयो, त्यसले साथीहरूलाई उत्तेजित बनाएको हो। तर सभापतिज्यूलाई अवरोध गर्ने हाम्रो मनसाय थिएन’, पार्टी कार्यालयमा भएको नाराबाजीको नेतृत्व गरेका नेविसंघ नेता नवराज त्रिपाठीले भने, ‘हामी त विधान कार्यान्वयन गराउन पार्टीका केन्द्रीय सदस्यको ध्यानाकर्षण गराउन गएका थियौं ।’

उनले यसअघि सभापति देउवालाई निवासमै भेटेर विधान उल्लंघन नगर्न ध्यानाकर्षण गराए पनि विधानविपरीत संघको नेतृत्व ल्याउन लागेपछि पार्टी कार्यालयमा नाराबाजी गर्नुपरेको जनाए ।

आक्रोशित देउवाले कार्यकर्तालाई अपशब्द प्रयोग गर्दै गाली गरेको आरोप लगाइएको छ। तर विद्यार्थी नेता त्रिपाठीले भने आफूहरूले अपशब्द नसुनेको बताए। ‘हामीले छाडा शब्दमा गाली गरेको सुनेनौं, तर सभापतिले अपशब्द बोलेको चर्चा पछि सुन्यौं’, उनले भने ।अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्