Logo

महराले को को बाट देखे ‘राजनीतिक षड्यन्त्र’



काठमाडौं, १६ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंको बन्द इजलाशमा गम्भीर विषय उठाए । उनले आफूविरुद्ध लागेको जर्बजस्ती करणी उद्दोगको अभियोग अस्वीकार गर्दै राजनीतिक षड्यन्त्र भएको बताए ।

महराले षड्यन्त्र मात्र नभनी राजनीतिक षड्यन्त्र भन्नुलाई अर्थपूर्ण मानिएको छ । महरा प्रकरण आएलगत्तै दुईवटा विषय आयो । महरा प्रकरण मिडियामार्फत् आएलगत्तै संयुक्त राष्ट्रसंघलगायत छवटा पश्चिमा देशहरुको नियोगले विज्ञप्ति जारी गरी घटनातर्फ संकेत गर्दै नेपालमा भइरहेको महिला हिंसाबारे ध्यानाकर्षण गराएका थिए । महरा प्रकरणका बेलामा आएको विज्ञप्तिलाई नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रश्न उठाएका थिए । उनले ऋषि धमलासँगको अन्तवार्तामा यही बखत किन पश्चिमाहरुको विज्ञप्ति आयो ? भनी प्रश्न गरेका थिए ।

गुरुङले महरा प्रकरणपछिको घटनाक्रममा राजनीतिक षड्यन्त्र औल्याएका थिए । नेकपाका सांसद रामनारायण बिडारीले पनि महरा प्रकरणमा राजनीतिक षड्यन्त्र रहेको औल्याएका थिए । उनीहरुले षड्यन्त्र भनिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको महराले गल्ती गरेको विषय बाहिर ल्याएका थिए । अमेरिकी सरकारसँगको एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्नेमा महराले अड्काएको आरोप लगाए । महराले गल्ती गरेको सिधै भने ।

यी भनाईहरु बाहिर आइरहँदा महरा स्वयंले अदालतमा आफूमाथि राजनीतिक षड्यन्त्र भएको बयान दिएका छन् । यसलाई दुई कोणबाट हेर्नुपर्छ । पहिलो, महराप्रति पश्चिमाहरु सकारात्मक थिएनन् र मौकाको पर्खाइमा थिए जुन उनीहरुलाई मिल्यो । अर्को, महराले आफूविरुद्धको अभियोगलाई राजनीतिक षड्यन्त्रको रङ्ग दिएर घटनालाई नयाँ मोडमा लान खोजिरहेका छन् । उनले आफूलाई राजनीतिक व्यक्ति र राजनीति कारणले षड्यन्त्रपूर्वक कारबाही गर्न खोजिएको सन्देश प्रवाह गर्न खोजेका छन् ।

जे होस् घटनाका अनेक मोडहरुले यसलाई अझ रहस्यमय र जटिल बनाइदिएको छ । महरा प्रकरणले नेकपाभित्रको राजनीतिमा समेत दुरगामी असर पर्ने घटना विकास हुने देखिन्छ । किनभने नेकपाभित्र महराको बचाउमा पूर्व माओवादी देखिएका छन् । पूर्व एमालेहरु महरालाई जोगाउने पक्षमा छैनन् ।

महरा प्रकरणको २८ दिनमा के के भयो

१८ असोजमा रोशनीको किटानी जोहरीले महरा १९ असोजमा पक्राउ परे । तर, ३ कात्तिकमा उनले महराविरुद्ध जाहेरी प्रहरीको करकापले गरेको अदालतसमक्ष बयान दिइन् । यो २८ दिनबीच के के भएः

१२ असोजमा रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेका भनिएका महराबारे प्रहरीलाई सोही राति नै जानकारी पुगिसकेको थियो । प्रहरीले राति नै प्रारम्भिक अनुसन्धान गरिसकेको थियो । यो खुलिसकेको विषय हो ।

१३ असोजमा हाम्रा कुरालाई रोशनीले अन्तवार्ता दिएर जर्बजस्ती गरेको देखि महरासँगको पुरानो र वर्तमानको सम्बन्ध खुलाएकी थिइन् ।

१४ असोजमा महराले नेकपाभित्रको दबाबपछि राजीनामा दिए । सोही दिन रोशनी शाहीको भनाई बदलियो । विहानसम्म महराका स्वकीय सचिवले जारी गरेको विज्ञप्तिको खण्डन गरेकी उनले दिउँसो महरा निर्दोष रहेको भन्नथालिन् । उनले नागरिकन्यूजलाई अन्तवार्ता दिएर महराको पक्षमा बोलिन् । त्यसपछि उनी लगातार महराको पक्षमा उभिइन् ।

१६ असोजको विहान उनको सम्बन्ध विच्छेदको विषय बाहिर आयो । पति चित्रजंग शाहीले डिभोर्सको सम्झौता गरेको पत्र सार्वजनिक गरे ।

१७ असोजमा महरा प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखायो । प्रहरीसँग यस घटनाबारे जानकारी माग्यो । लगत्तै राष्ट्रसंघीय नियोग र नेपालस्थित पाँच देशका कुटनीति नियोगले संयुक्त विज्ञप्ति जारी गरी महरा प्रकरणतर्फ लक्षित गर्दै नेपालमा महिला हिंसाबारे चासो व्यक्त गरे ।

१८ असोजमा घटनाले अर्को मोड लियो । रोशनी शाहीले प्रहरीमा कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दिइन् । योसँगै अब घटनाको अनुसन्धान नयाँ मोडमा पुग्यो ।

१९ असोजमा महरा पक्राउ । पक्राउ अघि नेकपा नेताहरुको परामर्श । महरालाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओली देखि गृहमन्त्री रामबहादुर थापा बादलको अनौपचारिक निर्देशन ।

२३ असोजमा महरा रक्तचाप र स्वासप्रश्वासको समस्या आएको भन्दै नर्भिक अस्पताल भर्ना

२८ असोजमा महरालाई हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गरायो, पाँच दिन म्याद थप

१ कात्तिकमा महरासँग प्रहरीको बयानको प्रयास, स्वास्थ्यमा खराबी भएको भन्दै महरा सीसीयूमा भर्ना

३ कात्तिकमा महरालाई अदालतमा उपस्थित गराइयो, रोशनी शाही उपस्थित भई महराको बचाऊ । सोही दिन पाँच दिन म्याद थपको अनुमति

७ कात्तिकमा महरालाई थप एक हप्ता हिरासतमा राख्न म्याद थपको अनुमति, महराको तिहार हिरासतमा

१४ कात्तिकमा महरामाथि थुनछेकको बहस, सरकारी वकिलको कार्यालयले जर्बजस्ती करणी उद्दोगमा मुद्दा दायर गर्यो

१५ कात्तिकमा महरामाथि काठमाडौं जिल्ला अदालतको बन्द इजलाशमा बयान । महराले आफूमाथिको अभियोग अस्वीकार गर्दै षड्यन्त्र भएको भने ।

File Photo



प्रतिक्रिया दिनुहोस्