Logo

सभापति देउवाद्वारा महायज्ञ सफलताको कामना



दमौली, १६ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यासभूमिको प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजना भइरहेको अष्टोत्तरशत (१०८) श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको सफलताको कामना गर्नुभएको छ ।

वेदअनुयायी प्रतिष्ठान, व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष, पराशर आश्रम संरक्षण समिति, श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्सङ्ग समिति र विश्व हिन्दू महासङ्घ तनहुँको संयुक्त आयोजनामा शुक्रबारदेखि शुरु भएको महायज्ञको दोस्रो दिन आज महायज्ञस्थल पुग्नुभएका सभापति देउवाले महायज्ञ सफल पार्न सबै क्षेत्रको सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महायज्ञले व्यासभूमिको प्रचारप्रसारका लागि महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । वरिष्ठ नेता पौडेलले व्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्यको केन्द्रविन्दु बनाउन स्थानीयवासीले थालेको अभियान सकारात्मक रहेको चर्चा गर्नुभयो ।

सो अवसरमा काङ्ग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत महायज्ञमा सहभागी हुनुभएको थियो । अनादि वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण संवद्र्धन गर्ने र महर्षि वेदव्यासको जन्मभूमि व्यास पराशर क्षेत्रलाई विश्वमाझ चिनाउने प्रमुख उद्देश्यसहित महायज्ञको आयोजना गरिएको वेदअनुयायी प्रतिष्ठान नेपालका अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिनुभयो ।

महायज्ञमा नेपालका विभिन्न भागबाट साधुसन्तलगायत भारतबाट पनि भक्तजन आउनेछन् । कात्तिक २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपाल र विदेशबाट गरी करीब दुई लाख भक्तजन आउने अनुमान गरिएको छ ।

महायज्ञमा श्रीमद्भागवतका मर्मज्ञ एवं भक्तिमार्गका प्रखर वक्ता श्रीहरिप्रसाद अर्यालले कथावाचन गर्नुभएको छ । महायज्ञको अवसरमा १०८ श्रीमद्भागवत महापुराण पाठपारायण, श्रीसुक्त, पुरुषसुक्त, रुद्रसुक्त पाठपारायाण, ऋग, यजु, साम, अथर्ववेद पाठपारायाण, लघुरुद्राभिषेक, अग्निस्थापनालगायतका अनुष्ठाहरु सञ्चालन गरिनेछ । रासस



प्रतिक्रिया दिनुहोस्