Logo

उच्च मनोबलले रोगलाई जितिरहेका ओली



रिपोर्टर्स नेपाल, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण गरिएको १२ वर्ष बितिसकेको छ । भारतको नयाँ दिल्लीमा मृगौला प्रत्यारोपणपछि पनि ओली राजनीतिमा सक्रिय छन् ।

मृगौला प्रत्यारोपणपछि ओली दुई पटक देशको प्रधानमन्त्री भइसकेका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष भए । माओवादीपछि पार्टी एकीकरणयता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष छन् । उनी डेढ वर्षयता देशको प्रधानमन्त्री छन् । उनी सक्रिय प्रधानमन्त्रीका रुपमा चिनिन्छन् ।

ओलीको बोली र सक्रियताले उनी मृगौला प्रत्यारोपण गरिएको जस्तो लाग्दैनन् । बेला बेलामा उनको स्वास्थ्यबारे चासो र विभिन्न हल्ला चल्छ । त्यस्तै भयो यो हप्ता । उनी एक रात ग्रान्डी अस्पताल बसे । उपचार र प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो बढिरहँदा उनी अस्पतालबाट हसिलो मुद्रामा हात हल्लाउँदै बालुवाटार फर्किए ।

ओलीको स्वास्थ्यमा कुनै समस्या नभएको भने होइन । उनी मृगौलाको डायलसिस गर्दै आएका छन् । उनको उपचारमा संलग्न डा. चक्रराज पाण्डे भन्छन्, ‘प्रधानमन्त्रीज्यू स्वस्थ हुनुहुन्छ ।’ ओली सक्रियताका साथ काम गर्नसक्ने पाण्डेको भनाई छ ।

ओलीको उपचारमा डा. दिव्यासिंह शाहको नेतृत्वमा टोली तयार छ । ओली उपचारले मात्र काम गर्न सक्ने भएका होइनन् । उनको खाना बार्ने बानी छ । डा. पाण्डे भन्छन्, ‘उहाँले खानामा ध्यान दिनुभएकाले पनि एकदमै स्वस्थ बनाएको देखिन्छ ।’

ओली काममा सक्रिय हुनसक्नुमा आत्मबल मुख्य कारण देखिएको छ । चिकित्सक समेत रहेका नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मबलमा धेरै भर पर्ने बताउँछन् । उनी भन्छन्, ‘प्रधानमन्त्रीजीलाई प्रेसर दिने र मोरल डाउन गराउने काम गर्न हुँदैन ।’

मृगौला प्रत्यारोपण गर्दा १२ वर्ष अगाडि आफूले ओलीलाई भारतमा भेटेको स्मरण गर्दै डा. कोइरालाले अझै काम गर्न सक्ने बताए । उनले भने, ‘रेगुलर डायलसिस गराएर पनि प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न सक्नुहुन्छ ।’

ओली अस्वस्थ भएको भन्दै नाम चलेका नेताहरुले पनि पद त्यागेर आराम गर्न आग्रह गरेका छन् । त्यसमध्ये चर्चित नेता गगन थापा पनि छन् । तर, काँग्रेस नेता डा. कोइरालाको धारणा फरक छ । उनी भन्छन्, ‘उहाँ आफै अशक्त महशुश गरेर स्वेच्छाले छोड्नुहुन्छ भने केही भन्नुछैन । जनता र पार्टीका साथीहरुले प्रेसर दिएर छोडाउने काम गर्नुहुँदैन, त्यसले मोरल डाउन हुन्छ ।’

डा. पाण्डे पनि मनोबलमा जोड दिन्छन् । ओलीमा मानसिक र शारीरिक शक्ति देखेको बताए । उनले भने, ‘उहाँलाई मनोबल बढ्ने खालको वातावरण तयार गर्न सक्नुपर्छ ।’ मनोबलका कारण ओलीले देशलाई जसरी नेतृत्व दिइरहेका छन् त्यसरी दिइरहन सक्ने आशा व्यक्त गर्छन् ।

ओलीको योगदानको देशलाई अझै खाँचो रहेको ठान्ने कोइराला फेरि पनि आत्मबलमा जोड दिन्छन् । जयप्रकाश नारायणले पति मृगौला डायलसिस गर्दै राजनीतिमा सक्रियता देखाउन सकेको स्मरण गराउँछन् कोइराला । उनले भने, ‘देशकै राष्ट्रप्रमुख हुँदा पनि गिरिजाबाबु अस्वस्थ हुनुहुन्थ्यो, उहाँले त चलाउनुभयो नि । अक्सिजन लिई लिई हिंडेर काम गर्नुभयो ।’

डायलसिस गरेर पनि प्रधानमन्त्री ओलीले काम गर्न सक्ने डा. कोइरालाको भनाई छ । अरु देशका उच्च ओहदाका व्यक्तिहरुले डायलसिस गरेर काम गर्न सकेको बताए । हप्ताको तीन दिन डायलसिस गरेर काम गर्न सकिने उनको भनाई छ ।

ओलीको उपचारमा संलग्न डा. चक्रराज पाण्डे डायलसिस भनेको हामीले दिसापिसाब गरेजस्तै एउटा नियमित प्रक्रियामा सहयोग हो भन्छन् । उनी भन्छन्, ‘डायलसिस गर्दै काम गरेको आधारमा उहाँलाई समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।’

ओलीको स्वास्थ्योपचार भन्दा पनि मनोबलमा चिकित्सकहरु जोड दिन्छन् । उनको मनोबलको प्रशंशा समेत गर्छन् । मनोबलकै कारण ओलीले शारीरिक र मानसिक शक्ति आर्जन गरिरहेका छन् । उनले देशमा डेढ वर्षयता सरकारको नेतृत्व गरिरहेका छन् ।

(डा. शेखर कोइराला र डा. चक्रराज पाण्डेको भनाई ऋषि धमलाले गरेको रेडियो कुराकानीबाट लिइएको हो)



प्रतिक्रिया दिनुहोस्