Logo

अल्जेरियाको राष्ट्रपतिपदका लागि पाँच उम्मेदवार



अल्जियर्स, १७ कात्तिक । अल्जेरियाको राष्ट्रपति पदका लागि दुई जना पूर्व प्रधानमन्त्री सहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आमजनताको विरोधका कारण पूर्व राष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजिनामा गरेपछि राष्ट्रपति पद रिक्त छ ।

अल्जेरियाली चुनाव आयोगका प्रमुख मोहमद चार्फीले राष्ट्रपति पदका लागि २३ जनाले उम्मेदवारी दिएको तर तीमध्ये पाँच जनामात्र योग्य रहेको जानकारी दिए ।

संविधान अनुसार निर्वाचन आयोगले टुङ्ग्याएको नामलाई अन्तिम स्वीकृतिका लागि संवैधानिक परिषद समक्ष प्रस्तुत गरिनेछ ।

चुनावी सर्वेक्षणहरुका अनुसार पूर्व प्रधानमन्त्रीहरु अलि बेनफ्लिस र अब्देलमाजिद टेब्बोन भने अग्रपंक्तिमा रहनु भएको छ । करिब २० वर्ष शासन गरेका पूर्व राष्ट्रपति बौतेफ्लिका विरुद्ध अल्जेरियाली जनताले तिब्र विरोध गरेपछि सेनाको दबाबमा गत अप्रिलमा राजिनामा दिएका थिए ।

राष्ट्रपति पदका लागि अन्य उम्मेदवारहरुमा बौतेफ्लिकाको सत्तारुढ गठबन्धनको डेमोक्रेटिक नेसनल र्याली पार्टीका नेता अजेडाइन मिलहौबी, पूर्व पर्यटनमन्त्री अब्देलकादेर बेनग्रिना र फ्रन्ट एल–मुस्तकाबेल पार्टीका अध्यक्ष अब्देलाजिज बेलाइद रहेका छन् । अधिकारकर्मीहरुले भने निर्वाचनसँग सम्बन्धित कानुनमा व्यापक सुधार गर्नुपर्ने माग गरिरहेका छन् ।

अल्जेरियामा गत जुलाई ४ का लागि निर्वाचनको मिति तोकिएको थियो तर योग्य उम्मेदवारको अभाव देखाउँदै अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसालाह सत्तामा रहेका छन् । आमजनताले अन्तरिम राष्ट्रपतिले जानाजान राष्ट्रपतिको निर्वाचन गर्न ढिलाई गरेको आरोप लगाउँदै फेरि प्रदर्शन गरिरहेका छन् ।

सरकारले आगामी डिसेम्बर १२ मा निर्वाचन गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । निर्वाचन कानुनमा सुधार नहुने अवस्थामा गरिएको चुनावले पनि अल्जेरियामा राजनीतिक स्थिरता नल्याउने भन्दै विरोध जारी छ ।



प्रतिक्रिया दिनुहोस्