Logo

दयाहाङले किन ‘लप्पन छप्पन २’ छाडे



अभिनेता दयाहाङ राईले चलचित्र “लप्पन छप्पन २” नगर्ने भएका छन् । विभिन्न कारणले निर्धाति मितिमा छायांकन सुरु हुन नसकेपछि उनले चलचित्रबाट हात झिकेका हुन् । आफ्नो व्यस्तताका कारण साइन गरेको चलचित्र छाडेका छन् । दयाहाङ यही चलचित्रको छायांकनको लागि दशैं अगाडि लण्डन पुगेका थिए । समयमा छायांकन नभएपछि राई लण्डन घुमेर फर्किए । अहिले चलचित्रको छायांकन अष्ट्रेलियामा भइरहेको छ ।

चार महिनाको अन्तरमा बक्सअफिसमा दुई ब्लकबस्टर चलचित्र दिएका अभिनेता राईको नेपाली चलचित्रमा माग बढेको छ । एकपछि अर्को फ्लप चलचित्रले थलिएका उनलाई ‘जात्रै जात्रा’ र ‘कबड्डी कबड्डी कबड्डी’ चलचित्रले ठूलो राहत दिएको छ । उनको खस्किदो स्टारडमलाई यी चलचित्रहरुले पुनः उत्कर्षमा पुर्याएको छ ।

अहिले दयाहाङ उपेन्द्र सुब्बाको चलचित्र “जारी” को छायांकनमा व्यस्त छन् । पाँचथरमा यो चलचित्रको छायांकन भइरहेको छ । अभिनेत्री मिरुना मगरसँग उनको जोडी बाँधिएको छ । उनको तालिका अनुसार दशैंभित्र ‘लप्पन छप्पन २’ को छायांकन पूरा गर्ने र तिहारपछि ‘जारी’ गर्ने थियो । तर, ‘लप्पन छप्पन २’ को छायांकनमा ढिलाई आएपछि उनले चलचित्र छोडेका छन् ।

दयाहाङले चलचित्र नगर्ने भएपछि निर्माणटिमले उनको ठाउँमा अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्तिलाई अनुबन्ध गरेको छ । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका उनले आफ्नै पिताले निर्माण गर्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनयमा डेब्यू गर्न लागेका थिए । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता अभिनेत्रीमा राहेकी यो चलचित्रको छायांकन आधा पनि नसकिँदै रोकियो ।

चलचित्रबाट दयाहाङ हटेपछि शिवले आफ्नो छोरालाई लिन निर्माण टिमलाई आग्रह गरेको गोप्य स्रोतले जनाइएको छ । चलचित्रमा शक्ति प्रहरीको भूमिकामा हुने जनाइएको छ । यो चलचित्रमा शिव पनि अभिनय गर्दैछन् । File Photo



प्रतिक्रिया दिनुहोस्