Logo

चार हजार सुडानी सैनिक मारिएको हुथीको दाबी



साना, १७ कात्तिक : यमनमा युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिएको दाबी गरेका छन् ।

साउदी नेतृत्वको गठनबन्धनमा रहेर हुथी विरुद्ध लड्दै आएका सुडानी सैनिकहरु मारिएको हुथीका एक जना सैनिक प्रवक्ताले शनिबार जानकारी दिएका छन् । उनका अनुसार यो संख्या सन् २०१५ देखि अहिलेसम्मको मात्रै हो ।“लडाईका क्रममा हाम्रा सेनाले सयौं सुडानी सेनालाई नियन्त्रणमा लिएको छ,” हुथी विद्रोहीले सञ्चालन गरेको अल मसिराह टेलिभिजनसँगको कुराकानीमा हुथी सैन्य प्रवक्ता यह्या सरेयले भने ।

हुथी विद्रोहीको दाबीका बारेमा सुडानी सरकार तथा गठनबन्धनको तर्फबाट भने कुनै जानकारी दिइएको छैन । सुडानले साउदी गठबन्धनलाई सहयोग गर्न सन २०१५ देखि यमनमा सैनिक पठाएको छ । यस युद्धका क्रममा दशौँ हजार नागरिक मारिएका छन् भने दुई करोडभन्दा धेरै यमनी भोकमरीमा परेको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् ।

यमनका लागि राष्ट्रसंघका विशेषदूत मार्टिन ग्रिफिथले सन् २०१८ मा युद्धरत पक्षहरुबीच स्टकहोममा भएको शान्ति सम्झौता कार्यान्वयन गर्न साउदी सरकार र हुथी विद्रोहीबीच निरन्तर सम्पर्क स्थापित गर्न प्रयास भइरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्