Logo

पाटन अस्पतालमा जन्मिएका थिए भुटानी राजा



रिपोर्टर्स नेपाल, १७ कात्तिक । भुटानका राजा जिग्मे केशर नामगेल वाङचुक पाटन अस्पतालमा जन्मिएको खुलासा भएको छ । नेपालसँग आफ्नै निकै भावनात्मक सम्बन्ध भएको भन्ने गरेका भुटानी राजाको जन्म ललितपुरस्थित पाटन अस्पतालमा भएको खुलासा एकजना गैर आवाशीय भुटानी विद्धानले गरेका हुन् ।

डा. डिएनएस ढकालले लेखमार्फत् भुटानी राजाको नेपालसँग भावनात्मक सम्बन्ध हुनुको कारण खुलाउँदै पाटन अस्पतालमा उनको जन्म भएको उल्लेख गरेका छन् । उनको लेख २९ अक्टोबरमा गैर आवासीय भुटानीको अनलाइन पत्रिकारमा छापिएको छ ।

३९ वर्ष अघि पाटन अस्पताल प्रारम्भिक अवस्थामा थियो । त्यही भुटानका भावी राजाको जन्म भएको थियो । उनी भुटानको शाही परिवारका हुन् भन्ने कुनै सूचना दिइएको थिएन । यसबारे नेपालको राजपरिवार मात्र जानकार थियो ।

नेपालको राजपरिवारसँग भुटानको राजपरिवारको अति निकट सम्बन्ध् थियो । भुटानी भावी राजाको रक्षक मानिएको देवतालाई हरेक दिन स्वयम्भुनाथमा पूजा गरिन्थ्यो ।

पाटन अस्पतालमा जन्मिएका बालककी आमा छिरिङ योङडोन अविवाहित थिइन् । भुटानी सेनाका वरिष्ठ अधिकारी याब युगेन डोर्जीकी छोरी थिइन् छिरिङ ।छिरिङले जन्म दिएकी बालकको नाम पछिमात्र जिग्मे केशर नामग्याल वाङचुक राखियो । शुरुमा उनको नाम जिग्मे गेसर थियो । बालक नामग्याल आठ वर्षको भएपछि मात्र भुटानी राजा जिग्मे सिङ्गे वाङचुकसँग विवाह भएको थियो । सन् १९८८ मा छिरिङसँगको विवाहलगत्तै राजा वाङचुकले नामग्याललाई भुटानको राजगद्दीको उत्तराधिकारी घोषित गरे ।

आठ वर्षको उमेरमा युवराज घोषित भएका नामग्याल भुटानको भावी राजाका लागि तयार गरिएका थिए । उनलाई विदेशमा विशेष शिक्षादिक्षा दिइएको थियो । १४ डिसेम्बर सन् २००६ मा नामग्याल राजा घोषित भए । उनको राज्याभिषेक ६ नोभेम्बर सन् २००८ मा भयो ।

भुटानको राजा भएपछि पनि नामग्याल काठमाडौंमा जन्मिएको रहस्यकै गर्भमा थियो । उनले यसको खुलासा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा गरे । उनी नेपाल भ्रमणमा आउँदा आफू जन्मिएपछि बाल्यकालमा केही समय बिताएको घरमा समेत पुगेका थिए ।

राजा नामग्याल राजा नभएसम्म काठमाडौंमा जन्मिएको खुलासा नगर्नुमा एउटा कारण थियो । भुटानको नागरिक हुन भुटानमै जन्मिएको हुनुपर्ने कानुनी व्यवस्था छ ।

जे होस्, भुटानी राजा जिग्मे केशर नामग्यालको काठमाडौंसँग भावनात्मक सम्बन्ध छ । उनले बेला बेलामा नेपाली अधिकारीहरुसँगको भेटमा यसलाई व्यक्त गर्छन् । डा. डिएनएस ढकालले पनि यसबारे उल्लेख गरेका छन् ।

नेपाली राम्रो बोल्न सक्ने भुटानी राजा नामग्यालले भुटानका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँग आफू काठमाडौंमा जन्मिएकाले नेपालसँग भावनात्मक साइनो रहेको खुलाए । राजदूतका रुपमा ओहदाको प्रमाणपत्र लिने क्रममा आचार्यलाई भुटानी राजाले यसको जानकारी दिएका थिए ।

Photo Files: Agencies



प्रतिक्रिया दिनुहोस्