बेसहारालाई देउसीभैलीको रकम


लम्की, १७ कात्तिक : गुडीमुन्टे जोडी र टीकापुर अनलाइन टिभीले देउसीभैलीबाट सङ्कलित रकम ‘मेरी आमा’ नामक संस्थामा बस्ने बालबालिकालाई सहयोग गरेका छन् । उनीहरुले टीकापुर नगरपालिका–२ स्थित सञ्चालित मेरी आमामा बस्ने बालबालिकालाई देउसीभैलीबाट सङ्कलित रु ७७ हजार ६७८ बाट न्यानो लुगा र ओढ्ने ओछ्याउने सामग्री हस्तान्तरण गरेका हुन् ।

गुडीमुन्टे जोडीका संयोजक राजेन्द्र विकले बालबालिकालाई थोरै भए पनि सहयोग गरौँ भन्ने भावनाले देउसी खेलेको बताए । “यहाँ बस्ने बालबालिकालाई आवश्यक लुगाको अभाव देख्यौँ, जाडोमा आवश्यक न्यायो लुगा पनि रहेनछ”, विकले भन्नुभयो, “देउसीभैलो खेल्ने सल्लाह गर्यौ, अनि उठेको रकम सहयोग गरेका हौँ ।”

टीकापुर नगरपालिका–२ का वडाध्यक्ष प्रकाश बुढाथोकीले देउसीभैलोका रकम वनभोज खाएर खर्चिनुभन्दा बालबालिकालाई सहयोग गर्नु राम्रो सन्देश गएको बताए । वडाध्यक्ष बुढाथोकीले बालबालिकालाई वडा कार्यालयले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले युवाहरुले समाजका लागि सकारात्मक सन्देश दिएको बताए । “हरेक युवाहरुले समाजका लागि आ–आफ्नो क्षेत्रबाट रचनात्मक कार्य गर्न सक्नुपर्छ”, भण्डारीले भने , “सकारात्मक काममा सधैँ निजी क्षेत्रको साथ र सहयोग रहनेछ ।”

मेरी आमामा १० जना बेसहारा बालबालिका बस्दै आएका छन् । अभिभावकविहीन ती बालबालिकालाई दिव्या प्रयासीले लालनपालन गर्दै आएका छन् ।

Skip This

Omoda E5 Pro