Logo

रेखा थापालाई मन पराएको हुँ, अझै कुरा हुन्छ- सुदर्शन गौतम, चलचित्र नायक



रिपोर्टर्स नेपाल, क्यानडा, १७ कात्तिक । एउटा समय थियो नेपाली चलचित्रमा सुदर्शन गौतमको पाइलाले निकै चर्चा बटुल्यो । रेखा थापासँग उनको नाम जोडियो । चलचित्रमा सुदर्शनको सुखद शुरुवात लामो टिकेन । उनी मानव तस्कर जस्तो गम्भीर अपराधमा संलग्न भएको अभियोग लाग्यो । नेपाल प्रहरीले खोजी गर्यो । उनी अन्तर्राष्ट्रिय प्रहरी इन्टरपोलको रेड कर्नर नोटिशमा परे । उनै गौतमलाई ऋषि धमलाले क्यानडामा भेटे । उनीसँग धमलाले क्यानडामा गरेको कुराकानीः

तपाईं क्यानडा आएको १४- १५ वर्ष भइसक्यो, के गर्नुभएको छ ?
यो १४-१५ वर्षको समय त्यत्तिकै बित्यो । कसरी बित्यो भन्ने मलाई नै थाहा भएन ।
यति लामो समय कसरी बिताउनुभयो क्यानडामा ?
यहाँ मेरो धेरै समय सामाजिक कामहरुमा नै बित्यो ।
रेखा थापासँग तपाईंको राम्रो सम्बन्ध भयो नि ?
रेखाजीको सबैसँग नै राम्रो सम्बन्ध छ नि ।
तपाईंले रेखा थापासँग विवाह गर्ने भनेर हल्ला पनि भयो नि ?
यी सबै हल्लै त हुन् नि ।
तपाईंले रेखा थापालाई मन पराएको हो ?
ऋषि धमलाले पनि रेखा थापालाई मन पराएको हो नि । मेरो पनि त्यस्तै हो ।
आज सही कुरा भन्नुहोस् रेखा थापालाई तपाईंले साँच्चिकै मन पराएको हो ?
त्यो कुरा सही पनि हो, गलत पनि हो । दुवै हो ।
तपाईंले रेखा थापालाई नै विवाह गर्छु भनेको हो कि होइन ?
मैले त्यस्तो भनेकै छैन । यी सबै नचाहिने हल्ला हुन् ।
होइन, ठ्याक्कै भन्नुस् रेखा थापालाई मन पराएको हो कि होइन ?
मैले मनपराएको भन्नै मिल्दैन दाइ, कसरी भनौं हो कि होइन ? तपाईंनै भन्नुस् न ।
तपार्ईँले रेखालाई मनपराएको कि, उनले तपाईंलाई मनपराएको हो ?
त्यतिबेला हामी दुवै मिल्ने साथी थियौं ।
अहिले पनि राम्रो साथी हो ?
उहाँ मेरो मिल्ने साथी हो, हामीले सँगै काम पनि गर्यौं । त्यसबेला हाम्रो एउटा टिमवर्क थियो, त्यो समयमा हामी मिल्ने साथी थियौं ।
त्यतिबेला राम्रो साथी हुनुहुन्थ्यो, अहिले के छ ?
थियौं, अहिले पनि छौं ।
अहिले कुराकानी, भेटवार्ता हुन्छ ?
हुन्छ, उहाँसँग कुरा नहुनुपर्ने के नै भएको छ र ।
रेखाजी क्यानडा त आउनुभएको छैन ?
आउनुभएको छैन ।
उहाँलाई क्यानडा ल्याउने पक्षमा हुनुहुन्छ ?
मैले किन ल्याउनु दाइ ?
कुनै समय त तपाईंलाई चाहना होला नि रेखा थापालाई ल्याउने ?
कुनैबेला उहाँसँग टिमवर्क भयो, काम गरिने भयो भने हुनसक्छ ।
त्यसोभए रेखा थापालाई क्यानडा ल्याउन चाहनुहुन्छ ?
उहाँलाई क्यानडा किन ल्याउनु ? नेपालमै राम्रो काम गरेर बसिरहनुभएको कलाकारलाई ।
रेखा थापासँग विवाह गरेको भए तपाईंलाई राम्रो हुन्थ्यो भन्नेहरु पनि छन् नि ?
त्यो त भन्नेहरुलाई नै सोध्नुस् दाइ, मलाई थाहा भएन ।
उहाँसँग तपाईंको सम्बन्ध राम्रो थियो नि ?
उहाँसँग मैले मुभी खेलेको हुँ ।
रेखा थापासँग लभ परेको त होइन ?
सँगै काम गर्दैमा र मिल्ने साथी हुँदैमा लभ परेको भन्न मिल्दैन ।
सम्बन्ध त प्रगाढ भएको थियो, तर विवाह गर्नुभएन अब त्यो सम्भव छैन हो ?
म विवाहित हो, कसरी सम्भव हुन्छ ? त्यो सम्भवै छैन ।
जुनबेला राम्रो सम्बन्ध थियो, त्यतिबेला रेखा थापालाई विवाह गर्न लाग्नुभएको थियो नि ?
मन पराउने भन्नेले असल साथीको रुपमा पनि हुनसक्छ । त्यसलाई विवाहनै गर्नुपर्छ भन्ने हुँदैन ।
अनम्यारिडको नाताले मन पराउनुभएको हो ?
त्यतिबेला हामी एउटा मिल्ने साथी थियौं ।
सँगैखाने बस्नेपनि गर्नुभयो नि ?
त्यसताका एउटा असल साथीबाहेक अरु केही भएन उहाँसँग ।
त्यसोभए तपाईंले रेखालाई प्रेम मात्र गर्नुभयो, विवाह गर्न सक्नुभएन हो ?
रेखाको टपिक्समा कति झुन्डिनुभएको दाइ ।
त्यतिबेला रेखा र तपाईंबीच प्रेम भाँडियो, विवाह हुनसकेन हो ?
त्यो कदापि होइन ।
तपाईले रेखालाई मनपराएको धेरै प्रमाणहरु छन् नि ?
छैन होला ? तपाईंलाई त्यस्तो लागेको मात्र हो ।
तपार्इंंले त्यो फिल्ममा किन लगानी गर्नुभयो त ?
ल त्यो फिल्ममा मैले कहाँबाट लगानी गर्नु । म त एउटा एक्टर हुँ, फिल्म खेल्नु त मेरो कामै हो नि ।
तपाईंले फिल्ममा लगानी पनि गर्नुभयो होइन ?
यो पटक्कै होइन । कहिलेकाही कस्तो हुन्छ भने आफ्नो आत्मालाई पनि साँची राखेर बोल्नुपर्छ नि दाइ ।
यो कुरा सत्य हो, नढाँटी भन्नुहोस् है ?
एकदमै सत्य हो दाइ । रेखाको प्रसंगमा धेरै कुरा मार्केटमा आउँदा पनि म कहीं बोलेको छैन । म एकदमै कम बोल्ने मान्छे हुँ, तैपनि आज म ‘फस्ट टाइम’ भन्दैछु । निर्देशक श्याम भट्टराईले त्यो फिल्ममा मलाई पहिला अफर गर्नुभयो, उहाँले ‘यो कजबाट तपाईंले अभिनय गर्नुपर्यो’ भनेर । त्यसपछि रेखा थापालाई प्रस्ताव गर्नुभएको हो जस्तो मलाई लाग्छ ।
त्यसोभए श्याम भट्टराईले प्रस्ताव राख्नुअघि रेखा थापा र तपार्ईबीच सम्बन्ध थिएन ?
त्यसअघि पनि हामी साथी थियौ ।
कस्तो किसिमको साथी ?
मलाई जहाँसम्म लाग्छ, श्याम भट्टराईले नै मलाई चिनाउनुभएको हो ।
त्यसअघि तपाईंहरु सँगै त बस्नुभएन ?
बसिएन । म एउटा सानो मान्छे हो । सानै हिसाबले दुनियाँमा प्रस्तुत पनि भइराखेको छु । सानै भएर बाँच्न चाहन्छु । रेखा थापालाई केन्द्रमा राखेर ऋषि धमलाले यति ठूलो बहस गर्नुपर्छ जस्तो नै लाग्दैन मलाई ।
सुदर्शन गौतम र रेखा थापाबीचमा त नेपाली चलचित्र क्षेत्रमा ठूलो चर्चा छायो नि ?
त्यो मलाई कुनै विषय लाग्दैन । उहाँ एउटा फिल्मको कलाकार हो । म उहाँसँग फिल्म खेलेको मान्छे हो ।
यदि तपाईंको अहिलेसम्म विवाह नभएको भए, रेखा थापासँग हुन्थ्यो ?
हुँदैन थियो दाइ । उहाँसँग विवाह गर्नुृभन्दा त हनुमान चालिसा पढेर बस्थें ।
रेखासँग विवाह गर्ने पक्षमा चाहीं हुनुहुन्थ्येन ?
त्यो मेरो सोचमै थिएन । मेरो लागि रेखासँग विवाह ‘सुर्तिजन्य पदार्थ स्वास्थ्यको हानिकारक छ’ भनेजस्तै हो ।
हिरोइनसँग विवाह गर्दा हानिकारक हुन्छ भन्न खोज्नुभएको हो ?
फेरि मलाई ‘कन्ट्रोभर्सी’मा पार्न नखोज्नुसन् । होरोइनसँग भन्न खोजेकै होइन मैले, नितान्त रेखा थापासँग भनेको हुँ । उहाँ मेरो अत्यन्त मिल्ने साथी हो । धेरै हिरोइन म चिन्दापनि चिन्दिँन । मेरो पर्सनल एड कसैसँग छैन ।
रेखामात्रै तपाईंको निकट साथी हो, अरु कुनै हिरोइनसँग सम्बन्ध छैन ?
रेखाबाहेक कसैसँग छैन । म राख्न पनि चाहन्न, छँदापनि छैन ।
अहिलेसम्म एकजनासँग मात्रै चलचित्रमा अभिनय गर्नुभयो अरुसँग गर्ने चाहना छैन ?
छैन ।
चलचित्रमा आउनुहुन्न ?
चलचित्रमा आउने ।
कुन चलचित्रमा आउनुहुन्छ ?
केही समयपछि आपैंm चलचित्र बनाउछु, अथवा अरु कुनै गर्न सक्छु । त्यसलाई पहिला बुझ्नुपर्ने रहेछ । अन्जानमा धेरै कुरा भए । बुझेर गर्दा त्यसबाट ओझिलो सन्देश सोसाइटीमा जाओस् भन्न चाहन्छु । नहुने धेरै कुरा अनजानमा भएकाले आनन्दले सोचेर बसिरहेको छु ।
सुदर्शन गौतमलाई कुनै समस्या छैन हो ?
छ, मानिसको जिन्दगीमा समस्या किन नहुनु । समस्याबिनाको मान्छे त ‘डेथ’ भइहाल्छ नि । आन्तरिक समस्या सबैलाई हुन्छ, मलाई पनि छ ।
रेखालगायत कुनै हिरोइनसँग तपाईंको सम्बन्ध छैन ?
रेखासँग पहिलै सम्बन्ध थिएन, अब अहिले के हुनु ।
हिम्मतवाली राम्रो चलेन नि ?
खोइ, राम्रो चल्यो भन्छन् । म त फिल्म चल्यो भनेर हिटै भएको मान्छे । त्यसमा मेरो लगानी नभएको कारणले मलाई थाहा भएन । लगानी थियो भने सायद खोज्थेँ होला ।
फिल्म चल्दा काठमाडौंमै हुनुहुन्थ्यो, हलहलमा जानुभयो ?
गएको थिएँ ।
स्यावासी पाउनुभयो ?
राम्रै भयो, मलाई त्यति गर्छुजस्तो लागेको थिएन । मलाई ‘हिम्मतवाली’ फिल्मले नै बढी चिनायो ।

Photo Source: Youtube



प्रतिक्रिया दिनुहोस्