Logo

ओलीले देउवाकी सासुबाहेक देउवा सरकारका पालाका सबै नियुक्ती खारेज गरेपछि…



काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो शेरबहादुर देउवा सरकारको पालाका सबै नियुक्ति लगभग खारेज गरिदिए । कतिपयलाई बर्खास्त गरिदिए । देउवाको पालामा अन्तिम समयमा भएका नियुक्ती र बढुवाहरु आफू सत्तामा आएलगत्तै खारेज गरिदिएका हुन् ।

सरकारमा बसेको २१ महिनापछि ओलीले देउवा सरकारका पालामा भएको प्रदेश प्रमुखहरुको नियुक्तिमाथि हात हाले । उनले १७ कात्तिकमा सबै प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय मन्त्रिपरिषदको बैठकबाट गरे । त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का डा. गोविन्द बहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायस्थ, ३ का अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, ५ का उमाकान्त झा, कर्णाली प्रदेश का दुर्गा केशर खनाल र सुदुरपश्चिमका मोहनराज मल्ललाई पदमुक्त गरेको घोषणा गरिन् ।

प्रदेश प्रमुखको बर्खास्तीलाई नेपाली काँग्रेसले चुनौती दिइसकेको छ । उसले सरकारको कदमलाई सर्वसत्तावाद भनेको छ । अब काँग्रेस कसरी अगाडि बढ्छ स्पष्ट छैन ।

यसअघि पनि देउवाका पालामा भएका राजदूत नियुक्तिमाथि ओली सरकारले हात हालेको थियो । राजदूतहरुलाई फिर्ता बोलाउने कदम चाल्यो । तर, देउवाकी सासु प्रतिभा राणा जापानका लागि राजदूत छिन् । उनलाई अहिलेसम्म ओली सरकारले हटाएको छैन । देउवाका पालाका सबै निर्णयमाथि हात हाल्दा प्रतिभालाई जापानबाट फिर्ता नबोलाउनुमा ओलीले देउवालाई चिढ्याउन नचाहेको देखिन्छ । यसकारण पनि देउवा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुन सकिरहेका छैनन् । जसको लाभ ओलीले लिइरहेका छन् ।

File Photo



प्रतिक्रिया दिनुहोस्