Logo

महराको पक्षमा अहिलेसम्म क-कसले बहस गरे ?



काठमाडौं, १८ कात्तिक । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आजपनि थुनछेक बहस जारी छ । महराको तर्फबाट वरिष्ठ अधिवक्ता लवप्रसाद मैनालीले आइृतबार बहस गरेका थिए भने आज (सोमबार) दिउँसो २ बजेसम्ममा अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद सापकोटा र सबिता भण्डारी बरालले बहस गरिसकेका छन् ।

हिजो (आइतबार) सरकारको तर्फबाट ४ जनाले बहस गरेका थिए भने महराको पक्षबाट एक जनाले बहस सकेका थिए । आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गरेका थिए । अन्तिममा पूर्व महान्याधिवक्ता रमण कुमार श्रेष्ठले बहस गर्ने बुझिएको छ ।

आइतबार देखि चलेको बहस सकिएमा उनी र्पुपक्षका लागि थुनामा रहने या धरौटीमा रिहा हुने टुंगो लाग्नेछ । आइतबार महराका पक्षका कानुन व्यवसायीले बहस गर्न बाँकी रहेकाले हेर्दा हेर्दैमा सकिएको थियो । काठमाडौं जिल्ला अदालतमा चलिरहेको बहस सकिएमा उनका बारेमा फैसला हुनेछ ।

महराले आफूमाथि लागेको अभियोग अस्वीकार गर्दै राजनीतिक षड्यन्त्र भएको बयान दिइसकेका छन् । उनलाई प्रहरीमा किटानी जाहेरी दिने पीडित भनिएकी रोशनी शाहीले बयान बदलेर महराको पक्ष लिएकी छिन् । यस्तो अवस्थामा महरा प्रकरण जटिल मोडमा पुगेको छ ।

१२ असोजमा रोशनी शाहीलाई तीनकुनेस्थित उनकै कोठामा जर्बजस्ती प्रयास गरेको अभियोग महरामाथि लागेपछि १९ असोजमा प्रहरीले सभामुखको बालुवाटारस्थित सरकारी निवासबाट महरालाई नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्