Logo

महरा यात्रा : रोल्पादेखि कारागारसम्म(भिडियो हेर्नुस्)



काठमाण्डौ । नेपालको राजनीतिक बृत्तमा पछिल्लो समय दुई वटा काण्डहरु चर्चामा छन् । सबैभन्दा बढी चर्चा पाएको काण्ड, निवर्तमान सभामुख कृष्णबहादुर महरा–रोसनी यौन काण्ड । यहि काण्डका कारण सभामुख र सांसद पद दुबै खोसिएका महरा अब भने कारागारमा भेटिनेछन् ।

जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै डिल्लबजार कारागार चलान गरिएको हो ।

महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरिएपनि मुद्धाको अन्तिम फैसला आउन बाँकी छ । अदालतको आदेशानुसार मुद्दा प्रक्रिया नटुंगिदासम्म महरा थुनामै रहनुपर्ने भएपनि थुनछेक आदेशविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने बाटो भने खुल्ला छ ।

२०७६ असोज १३ गते बलात्कारको अभियोग लगाइएको भिडियो सार्वजनिक भएपछि महराले १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । नागरिकस्तरमा महरा पक्राउ पर्लान नपर्लान भन्दै अन्यौल बढ्दैगर्दा असोज १९ गते पक्राउ परे । झन्डै १ महिनाको अनुसन्धानपछि बिहीबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्धा महराका लागि राजनीतिक लाभ र अवशरबाट बिश्राम लगाउने कारक बनेको छ ।

को हुन कृष्णबहादुर महरा ?

२०१५ असार १५ गते रोल्पाको लिवाङ–७ धारापानीमा जन्मिएका कृष्णबहादुर महराले पृथ्वीनारायण क्याम्पस पोखराबाट शिक्षाशास्त्रबाट स्नातक तह उत्तीर्ण गरेका थिए । २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय भएका महरा २०३६ सालदेखि २०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि बने ।

२०३७ मा तत्कालीन नेकपा चौथो महाधिवेशनदेखि पार्टीको सदस्यता लिएका उनी २०३७ सालमा रोल्पा जिल्ला सदस्य बने । २०३९ देखि ४१ सालसम्म अनेरास्ववियूको आठौं राष्ट्रिय सम्मेलनबाट केन्दीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष भएका महरा २०३६ देखि २०४८ सम्म शिक्षण पेशामा हराए ।

२०४८ सालदेखि नेकपा (मशाल) रोल्पा जिल्ला सेक्रेटरी बनेका महराले २०५० सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को क्षेत्रीय संगठन समिति सदस्यको जिम्मेवारी पाए । २०५१ मा तत्कालीन नेकपा (माओवादी) को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य बनेका महरा २०५३ असारमा माओवादी केन्द्रीय सदस्य बन्न सफल भएका थिए ।

२०५५ सालपछि पार्टी केन्द्रमा सक्रिय देखिएका महराले राजनीतिक यात्राका क्रममा धेरै मौका र अवशर पाए । ०६४ सालपछिको १० वर्ष यतामात्रै सत्ताको स्वाद चाखिरहने नेपालकै भाग्यमानी नेतामा पर्थे कृष्णबहादुर महरा । पटक जित्ने एक्ला माओवादी संसद समेत हुन उनी ।

तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालको प्रतिनिधि सभामा रोल्पा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका उनलाई संसदीय राजनीति सबैभन्दा फलिफाप बन्यो ।

२०६३ वैशाख १२ गते अन्तरिम विद्यायक हुँदै गिरिजाप्रसाद कोइरालाको नेतृत्वका अन्तरिम सरकारमा पहिलो पटक सूचना तथा सञ्चारमन्त्री बनेका महराले १० बर्षे अवधिमा ७ पटक मन्त्री बन्ने सौभाग्य पाए । गत असोज १६ गतेको महरा रोशनी यौन काण्ड भाग्यमानी राजनीतिज्ञ महाराका लागि लाभ र अवसरबाट बञ्चित गराउने कारक बन्यो ।



प्रतिक्रिया दिनुहोस्