Logo

लरीमा ३९ भियतनामी मृत भेटिएपछि मानव तस्करविरुद्ध भियतनाम सरकारले चाल्यो कडा कदम



बेलायतमा लरी कन्टेनरभित्र ३९ जना भियतनामी नागरिक मृत भेटिएपछि भियतनाम सरकारले मानव तस्करको सञ्जाल तोड्ने सक्रियता देखाएको छ । लरी घटनामा संलग्न भएको अभियोगमा भियतनामी प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

सोमबार आठ व्यक्ति पक्राउ गरेको छ । योसहित कुल १० जना समातिएका छन् । परिवारका सदस्यले सूचना दिएपछि भियतनाम सरकारले धमाधम पक्राउ गर्न थालेको हो ।

यसअघि कन्टेनरभित्र निसास्सिएर ज्यान गुमाएका ३९ जना चिनियाँ नागरिक भएको भनिएकोमा भियतनामी भएको पुष्टि भएको थियो । चीन हुँदै बेल्जियम पुर्याएर बेलायत प्रवेश गराउने क्रममा उनीहरुको मृत्यु भएको थियो ।

घटना भएको दिन एकजना भियतनामी युवतीले परिवारलाई मेसेज पठाइन् कि उनी स्वास फेर्न नसक्ने अवस्थामा छिन् । २६ वर्षीया फाम थी ट्रा माईले लेखेको सन्देश परिवारले खुलाएको थियो । सन्देशमा आफू मर्न लागेको र विदेशयात्रा असफल भएको लेखिएको थियो । निकै मार्मिक सन्देश संसारभर भाइरल भएको छ । सन्देश कन्टेनरभित्र निसास्सिइरहेकी माईले आमालाई लेखेकी थिइन् ।

माईको यात्रा ३ अक्टोबरबाट शुरु भएको थियो । उनी चीन पुगेर त्यहाँबाट यूरोपतर्फ लगिएकी थिइन् । २० दिनको यात्रामा उनीहरु बेलायत पुगेपनि अन्तमा ज्यान गुमाउन पुगेका थिए ।

प्रारम्भिक अनुसन्धानले कन्टेरनमा राखिएका ३९ जनाको मृत्यु ठण्डीले भएको हुनसक्ने बताइएको छ । रेफ्रिजेरेटर भएको कन्टेनरमा तापक्रम माइनस २५ डिग्रीभन्दा कमसम्म हुने व्यवस्था थियो । निकै कम तापक्रमका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने द मिररले लेखेको छ । कन्टेनरलाई बेल्जियमबाट बेलायत पुर्याइएको थियो ।

बेलायतको लन्डन नजिकै चेकजाँचका क्रममा बिहिबार ३९ शव बरामद भयो । जसमध्ये एकजना किशोरसहित ३१ पुरुष र आठजना महिला थिए । सबैजना चिनियाँ नागरिक भएको भनिएपनि अन्य देशका नागरिक समेत भेटिएका छन् ।

घटनामा लरी चालक २५ वर्षीय मो रबिन्सन पक्राउ परेका छन् । उनी उत्तरी आइरल्यान्डका हुन् । रबिन्सनसँगको प्रारम्भिक अनुसन्धानपछि थप दुईजनालाई पक्राउ गरिएको छ । घटनापछि मानव तस्करहरुको ठूलो सञ्जाल पत्ता लागेको र धेरै पक्राउ पर्ने सम्भावना देखिएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्