Logo

भीआईपी हिरासत–अस्पताल !



काठमाडौं १९ कार्तिक । प्रहरीले पक्राउ गरेको ६ दिनपछि निवर्तमान सभामुख कृष्णबहादुर महरा एकाएक ‘बिरामी’ परे । श्वासप्रश्वासको समस्या देखियो। रक्तचाप उच्च भइदियो । मुटुको जाँच गराउनुपर्‍यो । उनी नर्भिक इन्टरनेसनल अस्पतालमा २५ दिन बसे ।

संघीय संसद् सचिवालयकी एक कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि उनी १९ असोजमा पक्राउ परेका थिए ।

उनी २३ असोजमा अस्पताल भर्ना भए । ‘अस्पतालको क्याबिनमा बसेर उहाँले उपचार गराउनुभएको हो’, अस्पतालका नायब महाप्रबन्धक आरपी मैनाली भन्छन् ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी डिल्लीबजार कारागार चलान भएका छन् । यससँगै उनको अस्पताल बसाइ सकिएको छ ।

पक्राउअघि र पक्राउपछि स्वास्थ्य समस्या दर्शाउँदै अस्पताल बस्ने महरा पछिल्ला व्यक्ति हुन् । यसअघि उनीजस्ता नेता एवं उच्च पदस्थ व्यक्ति (भीआईपी) अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा बसेका थिए ।

गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, जयप्रकाशप्रसाद गुप्ता, श्यामसुन्दर यादवलगायत नेता अस्पताल भर्ना भएका थिए । उद्योगी प्रदीपजंग पाण्डे र पूर्वसहसचिव चूडामणि शर्माले अभियोग लागेपछि अस्पतालमै बसे ।

जिल्ला अदालत काठमाडौंमा बयान दिन जानुपरेपछि तत्कालीन माओवादी लडाकु गोविन्दबहादुर बटालाको मुटु दुख्यो ।

उनलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोग लागेको थियो। उनी वीर अस्पतालको आईसीयूमा भर्ना भएका थिए । अदालतले आफ्नो पक्षमा फैसला गरेपछि अबिरजात्राका साथ उनले अस्पताल छाडेका थिए । -अन्नपूर्ण पोष्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्