Logo

नेकपा र काँग्रेसबीच द्धन्द्ध बढ्ने संकेत



समाचार विश्लेषण । चाँडबाँडको मौका पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले कडा कदमहरु चाले जसले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई चिढ्याएको छ । ओलीले सबैभन्दा पहिले नेपाली काँग्रेसका नेताहरुसँग सम्बन्धित पुराना मुद्दाहरुको फाइल खोल्न लगाए । जसको पहिलो तारोमा परे रौतहटका मोहम्मद अफताब आलम ।

१२ वर्ष अघि ईंट्टाभट्टामा ज्यूँदै जलाएको उजूरी र मुद्दाको फाइल खोलिंदा अफताब पक्राउ परे । उनी जेल जानुपर्ने अवस्था बनेको छ । विगतमा पनि उठेको देवेन्द्रराज कँडेलको दोहोरो नागरिकताको विषयमा सरकारले चासो देखायो । कँडेलमाथि छानविन भइरहेको छ ।

उल्लेखित दुवै घटना महरा प्रकरणपछि उठाइयो । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लागेपछि कारबाहीको दायरामा ल्याइए । यसपछि काँग्रेस नेताहरुसँग जोडिएको घटना उठ्यो । विगतमा बेवास्ता गरिएको विषय उठाउनुमा काँग्रेसले गम्भीर षड्यन्त्र देख्यो । काँग्रेस सभापतिले यसबारे बोले ।

तिहारलगत्तै प्रदेश प्रमुखहरुलाई ओली सरकारले बर्खास्त गर्यो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त गरिएका सातजनाको बर्खास्तगीलाई काँग्रेसले सर्वसत्तावाद भन्यो । यसअघि काँग्रेस नेतृत्वको सरकारका पालामा भएका नियुक्ति समेत ओलीले धेरै अघि खारेज गरिसकेका थिए ।

ओलीको एकपछि अर्को काँग्रेसलाई असर पर्ने खालका निर्णयपछि देउवाले प्रतिवाद गरिने बताएका छन् । तर, कस्तो प्रतिवाद गर्ने स्पष्ट पारिएको छैन । यसबारे काँग्रेसले बैठक बसी तय गर्ने बताइएको छ ।

ओली सरकारको कतिपय कदमहरु काँग्रेसलाई गम्भीर असर पर्ने खालको भएकाले देशमा सत्तापक्ष र प्रतिपक्षबीच ठूलो द्धन्द्धको अवस्था बन्नसक्छ । यसको संकेतहरु राजनीतिमा देखिनथालिसकेको छ ।

facebook



प्रतिक्रिया दिनुहोस्