Logo

हात्तीको क्षेत्र तोकेर सौर्य विद्युत्को तारबार



भद्रपुर, २० कात्तिक  : भारतबाट आउने जङ्गली हात्तीले गर्नसक्ने जनधनको क्षतिबाट स्थानीयवासीलाई जोगाउन झापामा हात्तीको चरिचरन क्षेत्र तोकेर त्यसबाहिर सौर्य विद्युत्को तारबार लगाउने कार्य तीव्ररुपमा अघि बढाइएको छ । तारबारपछि चरिचरन क्षेत्रमै हात्ती खुम्चिन थालेका छन् ।

सरकारले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको कचनकबलदेखि उत्तरी भाग बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो सौर्य विद्युत्को तारबार लगाउने कार्य गरिरहेको छ । त्यसमध्ये हालसम्म ४६ किलोमिटर लामो बार निर्माण भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार दक्षिण क्षेत्रको हल्दिबारीस्थित जलथल जङ्गलको वरिपरि २८ किलोमिटर लामो सौर्य विद्युत्को तारबार निर्माण भइसकेको र थप निर्माणकार्य जारी रहेको छ ।

यसैगरी, उत्तरतर्फ बाहुनडाँगीको तिरिङदेखि काँकडभिट्टासम्मको १८ किलोमिटर भागमा सौर्य विद्युतीय तारको बार विसं २०६६ मै सम्पन्न भइसकेको छ । वन मन्त्रालयले गत आर्थिक वर्षमा विनियोजन गरेको रु छ करोड बजेटबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले उक्त विद्युतीय तारबार बनाएको हो । कोषले एक कम्पनीलाई दिएको ठेक्कामार्फत तारबारको काम भइरहेको छ । आगामी आवमा तारबारको सम्पूर्ण कार्य सम्पन्न भइसक्ने अनुमान छ ।

जिल्लाका पूर्वी भागका सबै नगरपालिका र गाउँपालिकामा जङ्गली हात्तीले वर्षौदेखि आतङ्क मच्चाउँदै स्थानीयवासीको ज्यानसमेत लिने गरेको छ । विगत दुई दशकमा ३९ भन्दा बढीले हात्तीको आक्रमणबाट जीवन गुमाइसकेका छन् भने दर्जनौँ हात्ती मारिएका छन् । भारतको आसामदेखि आउने हात्ती चरनका लागि सीमावर्ती बाहुनडाँगीबाट नेपाल पसेर कोशी टप्पुसम्म ओहोरदोहोर गर्दै आएका छन् । पुख््र्यौली चरिचरन क्षेत्र भएका कारण झापाको जङ्गलमा हात्तीले बासस्थानसमेत बनाउने गरेका छन् ।

जङ्गलमा खानेकुरा केही नभएपछि आहारका लागि तिनीहरु गाउँ पसेर अन्नबाली सखाप पार्ने गर्छन् भने मानिसमाथि आक्रमणसमेत गर्छन् । उत्तरी भेगमा पहिले नै तारबार गरिएपछि त्यतातिरका गाउँबस्तीमा हात्तीको आतङ्क निमिट्यान्नजस्तै भएको छ । तर, अहिले हात्ती आतङ्क दक्षिण झापातिर सरेको छ । हल्दिबारी–३ का वीरबहादुर गिरीले सौर्य विद्युतीय तारबार गरेपछि हात्तीको आतङ्क ह्वात्तै घटेको अनुभूति सुनाए ।

झापाको सबैभन्दा ठूलो जङ्गल जलथलमा केही रैथानेसहित १३ हात्ती बस्ने गरेका छन् । त्यो समूहले कहिले यता र कहिले उता घुमेर गाउँमा आतङ्क मच्चाउने गरेको छ । अहिले हात्ती जङ्गलै जङ्गल हिँडेर उत्तर–दक्षिण ओहोरदोहोर गर्न थालेका स्थानीयवासी बताउँछन् । दक्षिणी भेगको कचनकबलदेखि बाह्रदशी, हल्दिबारी, भद्रपुर, विर्तामोड, अर्जुनधारा र बुद्धशान्ति हुँदै मेचीनगरको बाहुनडाँगीसम्म सौर्य विद्युत्को तारबार लगाउने सरकारी योजना छ । यो तारबारको काम सम्पन्न भएपछि हात्तीले गाउँ नपसी जङ्गलै जङ्गलको बाटो भएर भारतबाट नेपाल पस्ने र जलथलसम्म हिँडडुल गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्