Logo

तारेभिर पर्यटकको आकर्षण केन्द्र बन्दै



पोखरा, २० कात्तिक : कलान्तरदेखि वर्षातको पानी सङ्कलन गरी वस्तुभाउसँगै कृषिमा उपयोग गर्दै आइएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ ।

पर्यटकीय नगरी पोखराको वडा नं २२ पुम्दीभुम्दीस्थित तारेभिर पोखरी संरक्षण र आवश्यक भौतिक संरचना निर्माणसँगै यो आन्तरिक एवं बाह्य पर्यटकको पनि आकर्षण बनेको हो । स्थानीय ९२ वर्षीय जङ्गबहादुर गुरुङका अनुसार खानेपानीको समेत अभाव रहेको तत्कालीन अवस्थामा पशुपालन र खेत रोप्नको लागि तारेभिर पोखरीको पानी प्रयोग गर्दै आइएको थियो ।

गाउँको सिरानमा रहेको पोखरीमा वर्षौंभर पानी रहने गरेको अनुभव सुनाउँदै उनले त्यस समयमा पशुलाई पोखरीमै लगेर पानी खुवाउनुको साथै भैँसीका लागि आहाल बस्न उपयोगी भएको थियो । गाउँको इतिहासको साक्षीजस्तै बनको पोखरी यतिखेर संरक्षण र पूर्वाधार विकाससँगै पर्यटकीय गन्तव्य जस्तै बनेको उनले बताए ।

त्यस समयमा खानेपानी भने आधा घण्टा लगाएर धाराखोलाबाट ल्याउने गरेको जानकारी दिँदै उहाँले अहिले भने पातलाखर्कबाट पाइपमा ल्याइएको पानीका धारा घरघरमा रहेको बताए । समुद्री सतहदेखि लगभग एक हजार ६०० मिटरको उचाइमा अवस्थित २० मिटर लम्बाइ, १५ मिटर चौडाइ रहेको पोखरीको गहिराइ साढे एक मिटर रहेको वडासदस्य चेतभक्त बरालले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगर वडास्तरीय बजेट रु दुई लाख ५० हजार र हरियो वन कार्यक्रमको रु ७५ हजार एवं स्थानीय जनसहभागिता परिचालन गरी लगभग रु चार लाखको लागतमा पोखरीको पुनःनिर्माण गरिएको हो । पोखरीको चारैतर्फ पक्की परखाल लगाई करीब १० मिटर उचाइको तारजालीले बारेर दुई वटा ढोका राखिएको बताउँदै उनले जसले संरक्षणसहित सफा र सुन्दरतामा सहयोग पुगेको जानकारी दिए ।

आफू सानो हुँदा पोखरीको पानीमा पौडी खेल्ने गरेको स्मरण गर्दै स्थानीय डिलबहादुर गुरुङले अहिले संरक्षण गरेसँगै पोखरीमा माहुर जातका ८०० माछाका भुरा हालेको बताए । पोखरीमा अहिले भैँसीलाई आहाल बस्न नदिने गरी संरक्षण गरिएको बताउँदै उनले पोखरीको निकासबाट तल्लो भेगमा रहेको दश घर परिवारको लगभग १५ हल खेतमा सिँचाइको सुविधा पुगेको बताए ।

अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरिलगायतका मनोरम हिमशृङ्खलासहित फेवाताल र केही पोखरा बजारको समेत दृश्यावलोकन गर्न सकिने सो स्थानमा अहिले पनि दैनिक ५० देखि १०० सम्म पर्यटक आउने गरेको उहाँको भनाइ छ । पोखरीबाट नजिकै रहेको पुम्दीभुम्दीको कालावाङ घडेरी घरवास कार्यक्रममा आउने पाहुनालाई उक्त रमणीयस्थलसम्म पु¥याउनका लागि पहल भइरहेको बताउँदै उनले यसको प्रचारप्रसारको आवश्यकता रहेको औँल्याए ।

तारेभिर पोखरीको आँगनमा रहेको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसादले पोखरीलाई विद्यालयको आम्दानीको स्रोतका रुपमा विकास गर्नुपर्ने बताए । विद्यालयमा हाल ४० विद्यार्थी अध्ययनरत छन् । पोखरा–सिद्धार्थ राजमार्ग खण्डको छोरेपाटनदेखि पर्यटकीयस्थल शान्ति स्तूपा हुँदै पलाइचे गाउँको सिरानमा रहेको सो पोखरीसम्म पुग्नको लागि कच्ची मोटर बाटो निर्माण गरी यातायाताको सुविधासमेत पुगेको छ ।

तत्कालीन आवश्यकताका लागि पुर्खाले सयौँ वर्ष अघि खनेका तारेभिरजस्तै प्राचीन पोखरीको संरक्षणसहित पर्यटन प्रवद्र्धन गर्नसके ग्रामीण क्षेत्रमा हुने प्राङ्गारिक उत्पादनको बजारीकरणमा सहयोग पुग्ने र स्थानीय बासिन्दाको आयआर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्