Logo

भारतलाई लक्षित गरी आक्रमण गर्दै आएको आतंकवादी संगठनको गतिविधि नेपालमा 



काठमाडौं, २१ कात्तिक । भारतमा आतंकवादी आक्रमण गर्दै आएको इस्लामिक आतंकवादी संगठन हो इन्डियन मुजाहिद्दीन । यो संगठनको गतिविधि नेपालमा पनि रहेको तथ्य बाहिर आएको छ ।

इन्डियन मुजाहिद्दीनको गतिविधि भएका देशहरुमा भारत, नेपाल र पाकिस्तान हुन् भनी अमेरिकी सरकारको आतंकवादसम्बन्धित प्रतिवेदनमा उल्लेख छ । सन् २०१८ को गतिविधिलाई समेटेर गत शुक्रबार प्रकाशित प्रतिवेदनमा इन्डियन मुजाहिद्दीनको गतिविधि नेपालमा पनि रहेको उल्लेख हुनुलाई गम्भीरताका साथ लिइएको छ । भारतले इन्डियन मुजाहिद्दिनलाई पाकिस्तानले साथ र सहयोग दिइरहेको आरोप लगाउने गरेको छ । यही समूह नेपालमा सक्रिय भएको अमेरिकी प्रतिवेदन आउनु अर्थपूर्ण छ ।

के भन्छ अमेरिका
अमेरिका सरकारले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने खतरा औल्याएको छ । आतंकवादसम्बन्धि रिपोर्टमा ट्रान्जिट प्वाइन्ट बन्नसक्ने कारण समेत उल्लेख छ ।

अमेरिकाले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त सुरक्षा प्रबन्ध नहुनु र भारतसँगको खुल्ला सीमानाका कारण अन्तर्राष्ट्रिय आतंकवादी संगठनले ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थलका रुपमा दुरुपयोग गर्न सक्ने उल्लेख गरेको छ । सुरक्षा प्रबन्ध आतंकवादीले चलखेल गर्न सक्ने छिद्र बन्न सक्ला । तर, अमेरिकाले यस्तो गम्भीर रिपोर्ट बाहिर ल्याउनुमा कुनै न कुनै सूचना पाएको हुनसक्छ ।

अमेरिकाको रिपोर्टमा इन्डियन मुजाहिद्दीनले नेपालसँग आफ्नो सक्रियता बढाएको उल्लेख छ । यो भारत, नेपाल र पाकिस्तानमा सक्रिय रहेको छ । इन्डियन मुजाहिद्दीन साँच्चै सक्रिय रहेको हो भने यसको तारो भारतमा बढी हुनसक्छ । यसको मतलब नेपाली भूमिबाट इन्डियन मुजाहिद्दीनले भारतलाई तारोमा पार्ने खतरा छ ।

के हो मुजाहिद्दीन
सन् २०११ मा स्थापना भएको इन्डियन मुजाहिद्दीन भारतमा आधार बनाएर त्यहाँ दर्जनौं बम हमला गर्न जिम्मेवार ठहराइएको छ । सन् २००५ यता उसको बम हमलाबाट सयौं मारिएका छन् । यसको सम्बन्ध पाकिस्तानमा आधार बनाएको लस्कर ए तयबा, जैसे ई मोहम्मद र हर्कत उल जिहादी इस्लामीसँग रहेको छ ।

सन् २००८ मा इन्डियन मुजाहिघीनले दर्जनौं बम बिष्फोट गरायो जसमध्ये दिल्लीमा ३० जना मारिएको घटना र अहमदाबादको अस्पतालमा ३८ जना मारिएको घटना समेत हो । पुनेमा सन् २०१० मा जर्मन बेकरीमा बम हमला गर्यो जसमा १७ जनाको ज्यान गएको थियो । सन् २०१५ यता भारत सरकारले इन्डियन मुजाहिद्दीनको सञ्जाल तोड्ने सफलता हासिल गरेको छ । उसका सदस्यहरुलाई धमाधम पक्राउ गरेको छ । उसले कतिपय स्थानमा आक्रमणको योजना बनाएको पत्ता लाग्यो ।

नेपालमा आतंकवादी गतिविधि
नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी संगठनको आक्रमण सायदै भएको छ । घरेलु हिंसा बेला बेलामा चर्किएपनि नेपालमा वर्षौंयता अन्तर्राष्ट्रिय आतंकवादी संगठनको खतरनाक आक्रमण भएको छैन । २४ डिसेम्बर सन् १९९९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विमान हर्कत उल मुजाहिद्दिन नामको आतंकवादी संगठनले अपहरण गरेको थियो । त्यसले नेपालमा पनि आतंकवादीहरुको चलखेलबारे चासो बढायो ।

नेपाली भूभागबाट सन् २०१३ मा लस्कर ए तैबाका बम हमलाकारी अब्दुल करिम टुण्डा र युनानी डाक्टरको भेषमा पोखरामा बसेका इन्डियन मुजाहिद्दिीनका यासिन भट्कल पक्राउ परेको विषय बाहिर आयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतले सर्वाधिक खोजी गरिरहेका याकुब मेमम पक्राउ परेका थिए । उनलाई भारत लगी अदालती कारबाहीपछि फाँसीको सजाय दिइसकिएको छ ।

गत वर्ष सुनसरीमा मारिएका खुर्सिद आलमलाई इन्डियन मुजाहिद्दिनसँग जोड्दै भारतीय मिडियामा समाचार समेत प्रकाशित भयो । खुसिंद विद्यालय संचालन गर्दै आएका थिए । उनी सन् १९९३ को मुम्बई बम हमलामा संलग्न रहेको आशंका समेत गरिएको थियो । उनको मोटरसाइकलमा आएका बन्दुकधारीले हत्या गरेका थिए ।

यी तथ्यहरुका आधारमा नेपालबाट अन्तर्राष्ट्रिय आतंकवादी संगठनमाथि कडा नीति लिइएको देखिन्थ्यो । तर, पछिल्लो समय नेपालमा इन्डियन मुजाहिद्दीनको सक्रियता बढेको खबर बाहिर आएको छ । त्यो पनि संयुक्त राज्य अमेरिकाले त्यसबारे सूचना बाहिर ल्याएको छ । यसले शक्तिराष्ट्रहरुको ध्यान नेपालमा बढ्ने संकेत समेत मिलेको छ ।



प्रतिक्रिया दिनुहोस्