Logo

आलमको थुनछेक बहस सुरू



काठमाडौं, २१ कात्तिक । जिउँदै मान्छेलाई ईट्टाभट्टामा जलाएको आरोपमा प्रहरी हिरासतमा रहेका निलम्बित सांसद मोहमद अफताब आलमको थुनछेक बहस सुरू भएको छ । रौतहटका जिल्ला न्यायाधीश दिपक ढकालको इजलासमा आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने कि थुनाबाहिर राखेर भन्नेबारे बहस सुरू भएको हाम्रा सहकर्मी अभिमन्यु पटेलले जानकारी दिए ।

उनकाअनुसार अहिले सरकारी वकिलले बहस सुरू गरेको छ । रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवाल, सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उपन्यायाधीवक्ता अर्जुन प्रसाद कोइराला र जिल्ला न्यायाधीवक्ता रूद्रप्रसाद पन्थीले सरकारका तर्फबाट बहस गर्ने छन्। आलमका तर्फबाट भने बरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोपाल कृष्ण घिमिरे, प्रेम बहादुर खड्का, अधिवक्ता सुनिल पोखरेल र आफूले बहस गर्ने अधिवक्ता योगेन्द्र बहादुर अधिकारीले बताए।

बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले उनीविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो। आलम पक्राउ परे पनि अरू सबै फरार छन्। पीडितको पक्षमा भने बरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलालगायत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्