Logo

भारतले ल्याएको नयाँ नक्शा अस्वीकार-सरकारका प्रवक्ता बास्कोटा



काठमाडौं, २१ कात्तिक । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले ल्याएको नयाँ नक्शालाई सरकारले अस्वीकार गरेको बताएका छन् । बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै भारतले एकपक्षीय रुपमा राजनीतिक नक्शा जारी गरेकाले अस्वीकार गरिएको बताएका हुन् ।

‘एकपक्षीय रुपमा जारी राजनीतिक नक्शा अस्वीकार गर्छौं,’ बास्कोटाले भने, ‘समस्याको समाधान गर्न कुटनीतिक तथा राजनीतिक तहबाट कदम चाल्ने सरकार प्रतिवद्ध छ ।’ कालापानीमा मात्र सीमा समस्या नभएको भन्दै सबै समस्या समाधानका लागि सरकार गम्भीर भएको बताए ।

ऐतिहासिक तथ्यले पनि कालापानी नेपालको भएको प्रमाण रहेको भन्दै २०१८ सालमा त्यस क्षेत्रमा जनगणना समेत भएको उल्लेख गरे । देशको रक्षा, अधिकारको सम्मान र स्वाधीनताको रक्षा गर्ने सवालमा सरकार सदा गम्भीर भएको बताए ।

यसैगरी, अमेरिकी सरकारको आतंकवादसम्बन्धि सन् २०१८ को रिपोर्टमा नेपालमा आतंकवादी गतिविधिको खतराबारे औल्याइएको विषयमा मन्त्री बास्कोटोले अमेरिकालाई धन्यवाद दिए । नेपाली भूमि आतंकवादका लागि कदापि प्रयोग गर्न नदिने स्पष्ट पार्दै भने, ‘सरकार यस्ता गतिविधिबारे बेखर हुने सवाल आउँदैन ।’ नेपालमा आतंकवादलाई कुनै स्थान नभएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्