Logo

देउवा र भारतीय राजदूतको फोन वार्तापछि कालापानी र लिपुलेकका सन्दर्भमा कांग्रेसका ३ बुँदा



काठमाडौं २२ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कालापानी र लिपुलेकका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसको धारणा सार्वजनिक गरेका छन्।

नेपाली भूमिमाथि भएको कुनैपनि अतिक्रमण कांग्रेसलाई अस्वीकार्य रहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ’, विज्ञप्तिमा भनिएको छ।

त्यस्तै पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार भारतीय राजदूत मंजिवसिंह पुरीलाई टेलिफोनमार्फत् कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण गराएको समेत उक्त विज्ञप्तिमा उल्लेख छ।

कांग्रेस विज्ञप्तिका तीन बुँदा :

(१) भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै पार्टी प्रवक्ताको ट्विटमार्फत् तत्कालै हाम्रो औपचारिक धारणा सार्वजनिक गरिएको सर्वविदितै छ। कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ।

(२) सभापति श्री शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसँग यसबारेमा टेलिफोन संवाद गर्नुभएको छ। नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराउनु भएको छ।

(३) यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दामाथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्