Logo

सरकारी छाप देखि पुस्तकसम्म कालापानी समावेश नगरिएको नेपालको नक्शा



काठमाडौं, २२ कात्तिक । भारतले जारी गरेको नयाँ नक्शामा कालापानी उसको भागमा पारिएको भनी देशभर विरोध प्रदर्शन भइरहेको छ । सरकारले भारतको नयाँ नक्शालाई अमान्य भनेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले त्यसबारे कडा आपत्ती जनाइसकेका छन् ।

विद्यार्थीहरु सडकमा उत्रिएका छन् । तर, रोचक यो छ कि सरकारी छापहरुमा नेपाली नक्शा कालापानी समावेश नभएको भारतीय पक्षको नक्शा नै प्रयोग भइरहेको छ । सरकारी निकायको आधिकारिक वेवसाइटहरुमा पनि कालापानी समावेश नभएको नेपालको नक्शा प्रयोगमा आएको पाइएको छ । नापी विभागले जारी गरेको नक्शा कतिपय सरकारी छाप र वेवसाइटहरुमा प्रयोग गरिएको पाइएको छैन ।

नापी विभागले सबै सरकारी कार्यालयलाई विभागले जारी गरेको नक्शा प्रयोग गर्न भनेको थियो । यसबारे विगतमा पनि समाचार नआएको होइन । आधिकारिक नक्शा प्रयोगमा ल्याउन भन्दा पनि बेवास्ता भयो । तर, विदेशस्थित राजदूतावास देखि महत्वपूर्ण निकायको सरकारी छापमा समेत कालापानी नभएको नक्शा प्रयोगमा ल्याइएको छ ।

नापी विभागले तयार गरेको नक्शा समावेश नेपालको छाप

कतिपय कार्यालयको छाप हान्दा कालापानीरहितको नेपालको नक्शाको छाप परेको भेटिएको छ । शिक्षा सेवा आयोगमा त्यस्तै भेटिएको छ । अष्ट्रेलियास्थित नेपाली राजदूतावासको छापमा पनि कालापानी समावेश नगरिएको नेपाली नक्शा छ ।

यसैगरी, विद्यालयका पाठ्यक्रमहरुमा पनि कालापानी नभएको नक्शा भेटिएको छ । विद्यार्थीहरु सडकमा नारावाजी गरिरहँदा उनीहरु पढ्ने पुस्तकमै कालापानी नभएको नेपालको नक्शा पठनपाठनमा समावेश भएकोमा बेखबर जस्तै छन् ।



प्रतिक्रिया दिनुहोस्