Logo

४७ करोड बढी राजश्व सङ्कलन



काठमाडौँ, २२ कात्तिक : सानो भर्यांगस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५-०७६ मा रु एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले रु एक अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा थप रु ४७ करोड वृद्धि भएको जनाएको हो । सवारी साधन कर सङ्कलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व सङ्कलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए ।

आव २०७६-०७७ को कात्तिक २० गतेसम्म रु ६० करोड ६४ लाख ४३ हजार राजश्व उठेको र सेवाग्राहीको चाप वृद्धि हुँदै गएकाले उनीहरुलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनशक्तिको अभाव रहेको कार्यालयले जनाएको छ । दैनिक सेवाग्राहीको भीड लाग्ने उक्त कार्यालयले नौ मात्र कर्मचारी रहेकाले १३ कर्मचारी थप गर्न माग गर्दै आएको छ ।

असारदेखि असोजसम्म सवारी साधनको नवीकरणलगायत कार्य बढ्ने हुँदा सेवाग्राहीको भीड लाग्ने सो कार्यालयमा कामको चाप बढेका बेला राति ९ बजेसम्म पनि काम गर्नुपरेको बताइएको छ । कम्पाउण्डसहितको भवन नभएकाले कार्यालय हातामा सेवाग्राहीलाई बीमा कम्पनीका प्रतिनिधि तथा विचौलियाले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेकाले सिसी क्यामेराको सहयोगबाट निगरानी गरी प्रहरीको समन्वयमा कारवाहीसमेत गरिएको प्रमुख कपालीले जानकारी दिए । उक्त कार्यालयले दैनिक एक हजार २०० सेवाग्राहीलाई सेवा दिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्