Logo

देउवासँग भारत असन्तुष्ट



काठमाडौं, २२ कार्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भारत असन्तुष्ट भएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शाका विषयमा उनले भारतीय राजदूत मंजिब सिंह पुरीसँग टेलिफोन वार्ता गरेको विषय प्रेस वक्तव्यका रुपमा उल्लेख गरेपछि भारत असन्तुष्ट भएको हो ।

विदेशी राजदूतसँगको अनौपचारिक टेलिफोन वार्तालाई पार्टी प्रवक्ताले प्रेस वक्तव्यमा उल्लेख गरेपछि भारतीय पक्षले असन्तुष्टि जाहेर गरेको विश्वस्त स्रोतले बताएको छ । देउवाले टेलिफोन वार्तामा कालापानी र लिपुलेकको विषयमा भन्दा पनि समग्र सीमा समस्याका बारेमा चासो व्यक्त गरेको बुझिएको छ ।

२१ कार्तिकमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको हस्ताक्षरमा कालापानी र लिपुलेकका सन्दर्भमा शिर्षकमा विज्ञप्ति जारी भएको थियो । विज्ञप्तिको दोस्रो बुँदामा काँग्रेस सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मंजिव सिंह पुरीसँग कालापानी र लिपुलेकका बारमो टेलिफोन संवाद गरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘सभापति श्री शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसँग यसबारे टेलिफोन संवाद गर्नुभएको छ । नक्शाप्रति ध्यानाकर्षण भएको बताउँदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेको तथ्य स्मरण गराउनु भएको छ ।’

भारतले जारी गरेको नयाँ नक्शामा कालापानी र लिपुलेक उसको भूभागमा समेटेपछि देशभित्र विरोध भइरहेको छ । नेपाली काँग्रेसले पनि यसप्रति तिव्र असन्तुष्टि व्यक्त गरिसकेको छ । Photo File



प्रतिक्रिया दिनुहोस्